बाँके, ३० पुसः सिद्धार्थ कटेज नेपालगञ्जले यो वर्ष चौथो पटक मःमः फेस्टिभल आयोजना गर्न लागेको छ । सिद्धार्थ कटेजले २०८० सालदेखि निरन्तर रूपमा नेपालगञ्जमा मःमः फेस्टिभल आयोजना गर्दै आएको हो ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पितालिटिका क्षेत्रीय प्रबन्ध निर्देशक केशव न्यौपानेका अनुसार यस वर्षको चौथो मःमः फेस्टिभलमा २०० भन्दा बढी प्रकारका मःमः समावेश गरिनेछ । “नेपालीको सबैभन्दा मन पर्ने खाजा भएको हुनाले नेपाली खाजा प्रवर्धन गर्ने उद्देश्यले हामीले विगत ४ वर्षदेखि मम फेस्टिवल मनाउँदै आएका छौं ।” उहाँले भन्नुभयो, “यो मम फेस्टिवल नेपाली उत्पादनलाई प्रोत्साहन गर्छ ।”
स्थानीय समुदायमा लोकप्रिय रहेका विभिन्न खाद्य परिकारहरूको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताइएको छ । तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा प्रत्येक दिन फरक–फरक कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । फेस्टिभलको पहिलो दिन स्थानीय कलाकार तथा ब्याण्डहरूको प्रस्तुति हुनेछ भने दोस्रो दिन चर्चित गायक सुमन अधिकारी, इन्द्रमणि सम्भार, सम्राट अधिकारी तथा अन्य ब्याण्डहरूको विशेष प्रस्तुति रहनेछ ।
त्यसैगरी दोस्रो दिन नै सांस्कृतिक कार्यक्रम तथा मःमः मेकिङ एण्ड इटिङ प्रतियोगिता समेत आयोजना गरिने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका लागि निःशुल्क नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । विजेताहरुलाई विशेष पुरस्कारको पनि व्यवस्था रहेको आयोजकले जनाएको छ । फेस्टिभलको अन्तिम दिन राष्ट्रिय तथा स्थानीय ब्याण्डहरूको प्रस्तुति रहनेछ भने तीनै दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको नृत्य प्रस्तुति निरन्तर रूपमा प्रस्तुत गरिनेछ ।
सिद्धार्थ कटेज नेपालगञ्ज शहरको मुटुमा अवस्थित, पर्यटकमैत्री तथा लोकप्रिय रेस्टुरेन्टका रूपमा परिचित छ । सिद्धार्थ ग्रुप अन्तर्गत नेपालगञ्जमा रहेको होटेल सिद्धार्थ ९चारतारे लक्जरी होटल० सहित देशका विभिन्न स्थानमा होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफे गरी ३३ वटा आउटलेटहरू सञ्चालनमा रहेका छन् ।






