बाँके, २८ पुस । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले आगामी निर्वाचनलाई भ्रमरहित, भयरहित, स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गराउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिनु भएको छ । उहाँले सो कुरा नेपालगञ्जमा आज आयोजित प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ सम्बन्धी निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै बताउनु भएको हो ।
आयुक्त डा. तुलाधरले प्रमुख निर्वाचन अधिकृत र अधिकृतहरूलाई कडाइका साथ जिम्मेवार ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ । कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका ६६ जना मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको सहभागिता रहेको थियो । भोलिसम्म हुने उक्त अभिमुखीकरण कार्यक्रममा आयुक्त तुलाधरले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै निर्वाचन व्यवस्थापनमा कुनै पनि प्रकारको कमजोरी, ढिलासुस्ती वा लापरवाही सह्य नहुने स्पष्ट पार्नुभयो ।
उहाँले मतदाताको विश्वास नै निर्वाचन प्रणालीको आधार भएको बताउँदै निर्वाचन प्रक्रिया पारदर्शी, निष्पक्ष र कानुनअनुसार सञ्चालन गर्न आयोगले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको जानकारी दिनुभयो । मतदाता शिक्षादेखि मतगणनासम्मका सम्पूर्ण प्रक्रिया कानुनी मापदण्डअनुसार सम्पन्न गरिनुपर्नेमा उहाँको जोड थियो ।
आयुक्त तुलाधरले यसपटकको निर्वाचनमा युवाहरूको उल्लेखनीय सहभागिता हुने अपेक्षा गरिएको उल्लेख गर्दै युवाको सक्रिय सहभागिताले लोकतन्त्रलाई थप सबल, जीवित र उत्तरदायी बनाउने विश्वास व्यक्त गर्नुभयो । युवाको उत्साह र संलग्नता लोकतान्त्रिक प्रक्रियाको सकारात्मक संकेत भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा निर्वाचन व्यवस्थापनसँग सम्बन्धित प्राविधिक पक्ष, मतदान केन्द्र व्यवस्थापन, सुरक्षा समन्वय, मतदाता नामावली अद्यावधिक, प्रचार–प्रसारको मर्यादा, आचारसंहिता कार्यान्वयन, निर्वाचन आचारसंहिता उल्लङ्घनमा गरिने कारबाही तथा मतगणना व्यवस्थापनलगायत विषयमा विस्तृत छलफल गरिएको थियो ।
सहभागी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूले आ–आफ्ना जिल्लामा देखिएका चुनौती, सिकाइ र अनुभव साझा गर्दै आगामी निर्वाचनलाई थप प्रभावकारी र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । अभिमुखीकरण कार्यक्रम निर्वाचनलाई सफल, विवादरहित र विश्वासिलो बनाउन सहयोगी हुने विश्वास लिइएको छ ।






