बाँके २३,पुसः डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल र सेवामैत्री बनाउने लक्ष्यसहित भौतिक निर्माण, पुनरसंरचना र सौन्दर्यकरण (बगैचा) निर्माणको कार्य तीव्र रूपमा गरिरहेको छ । जीर्ण अवस्थामा रहेको कार्यालय परिसर निर्माण, मर्मत–सम्भार गर्दै संरचनात्मक सुधार र दृश्यात्मक आकर्षण थप्ने कामको औपचारिक शुभारम्भ गरिएको हो ।
डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजन वन अधिकृत शंकर प्रसाद गुप्ताले भन्नुभयो, “हामीले यो आर्थिक वर्षदेखि यस डिभिजन वन कार्यालयलाई नयाँ र आकर्षक बनाउनका लागी आवश्यक मर्मत सम्हार र केही भौतिक संरचनाहरुको पनि निमार्ण कार्य शुरु गरेका छौं ।” अहिलेको कार्यालय संरचना कर्मचारी संख्या र सेवाग्राहीको चापअनुसार पर्याप्त नभएको बताउँदै गुप्ताले भन्नुभयो, “नयाँ भवन निर्माण र भौतिक सुधारपछि सेवा प्रवाह अझ छरितो, व्यवस्थित र प्रभावकारी बन्नेछ ।”
उहाँका अनुसार कार्यालयको मूल गेट पुनरसंरचना गर्नुका साथै प्रवेशद्वार पूर्ण रूपमा पुनर्निर्माण गरिएको छ । “यसअघि प्रवेशद्वारको मर्मत नहुँदा सहायक वैकल्पिक गेट प्रयोग गर्नुपर्थ्यो ।” उहाँले भन्नुभयो,“एक लाख रुपैयाँको लागतमा नयाँ प्रवेशद्वार निर्माण भएपछि अब आवतजावत सहज भएको छ ।” मूल गेट अगाडि रहेको खाल्डो पुर्न दश टिप्पर माटो प्रयोग गरिएको पनि उहाँले बताउनुभयो ।
कार्यालयलाई डिजिटल र सूचनामैत्री बनाउने उद्देश्यले दुईवटा डिजिटल बोर्ड स्थापना गरिएको छ । साथै, यसअघि आधा भागमा मात्र सीमित रहेको कार्यालय पर्खाललाई यसै आर्थिक वर्षमा पूर्ण गरिएको छ । “पहिला पर्खाल आधा थियो । तर यही आर्थिक वर्षमा हामीले साढे १३ लाख रुपैयाँको लागतमा पर्खाल निर्माण सम्पन्न गरेका छौं ।” गुप्ताले भन्नुभयो, “अब त्यसमा रंगरोगन गरी वन, वातावरण र वन्यजन्तु झल्काउने चित्रहरू कोरेर थप आकर्षक बनाईने कार्य भईरहेको छ ।”
कार्यालय परिसरभित्र कर्मचारी र सेवाग्राहीका लागि विश्रामस्थलको व्यवस्था गर्दै काठ र खरको गोल घर पनि निर्माण गरिएको छ । कार्यालयलाई अझ आकर्षक बनाउन परिसरमा रहेको बाघ, हात्ति लगाएतका मूर्तिलाई रंगरोगन गरी नयाँ रूप दिइएको छ । दुई कठ्ठा क्षेत्रफलमा फैलिएको फूलबारीको गोडमेल गरी हिउँदे फूलहरू रोपिएको छ भने परिसरभित्र उम्रिएका साना–ठूला झाडी कटान गरी व्यवस्थित गरिएको छ ।
यसैक्रममा, डिभिजन वन कार्यालय बाँकेमा नयाँ भवन निर्माण कार्य पनि औपचारिक रूपमा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन निर्देशनालयको पहलमा कार्यालयका लागि तीनतले नयाँ भवन निर्माण हुन लागेको हो । उक्त भवनमा ३६ वटा कोठा रहनेछन् । प्रदेश सरकारको बजेट स्रोतबाट निर्माण हुन लागेको यस आयोजनाको अनुमानित कुल लागत ३ करोड ५० लाख ६० हजार ६ सय ६७ रुपैयाँ ५ पैसा रहेको छ सिनियर डिभिजनल वन अधिकृत गुप्ताले जानकारी दिनुभयो ।
सो भवन निर्माणका लागि २ करोड ६० लाख ३४ हजार २ सय ७८ रुपैयाँ ६ पैसामा ठेक्का सम्झौता गरिएको कार्यालयले जनाएको छ । जसमा पीएस तथा मूल्य अभिवृद्धि कर (भ्याट) समावेश छैन । गुप्ताका अनुसार २०८२ साल साउन ७ गते ठेक्का सम्झौता सम्पन्न भएको यो भवन आगामी २०८४ साल असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
“वन संरक्षण, व्यवस्थापन र वनसम्बन्धी सेवाहरूलाई एउटै स्थानबाट व्यवस्थित रूपमा सञ्चालन गर्न आधुनिक पूर्वाधार आवश्यक थियो ।” गुप्ताले भन्नुभयो, “यो नयाँ भवनले हाम्रो कार्यसम्पादन क्षमतामा उल्लेखनीय सुधार ल्याउने हामीले विश्वास लिएका छौं ।” उहाँका अनुसार निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न होस् भन्ने उद्देश्यले नियमित अनुगमन र प्राविधिक मूल्याङ्कन समेत गरिएको छ ।
“सरकारी लगानीको सदुपयोगमा कुनै सम्झौता हुँदैन ।” उहाँले भन्नुभयो, “आन्तरिक बोलपत्र प्रक्रियामार्फत अघि बढाइएको यो आयोजना सम्पन्न भएपछि बाँके जिल्लामा वन संरक्षण, जैविक विविधता व्यवस्थापन तथा वनसम्बन्धी सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।” नयाँ संरचनाले कर्मचारीका लागि सुरक्षित, सुविधायुक्त कार्यस्थल र सेवाग्राहीका लागि सहज तथा मैत्रीपूर्ण वातावरण प्रदान गर्ने विश्वास कार्यालयले व्यक्त गरेको छ ।






