बाँके, २३ पुस । जिल्ला प्रशासन कार्यालय बाँकेले पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन २०६३ को दोस्रो संशोधन तथा नियमावली चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका ८, अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएको हो ।
प्रमुख जिल्ला अधिकारी तामाङ्गका अनुसार मोहनकी ४६ वर्षीय आमा माया कुमारी गोडीया को नामबाट वंशजका आधारमा नागरिकता प्रदान गरिएको हो । लामो समयदेखि नागरिकता नपाउँदा शिक्षा, रोजगारी, खेलकुद तथा अन्य आधारभूत सेवाबाट वञ्चित हुँदै आएका मोहन गोडीयाले नागरिकता प्राप्त गरेपछि आफूलाई राज्यको वास्तविक नागरिक भएको अनुभूति भएको बताउनुभयो ।
“१७ वर्षको उमेरदेखि खेलकुदमा निरन्तर सहभागी हुँदै आएँ ।” उहाँले भन्नुभयो, “मैले ०८० सालमा काठमाडौंमा भएको अन्तर नगरपालिका राष्ट्रिय खेलकुद र ०८१ सालमा चितवनमा सम्पन्न अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सहभागी भएँ । तर कागजातको अभावले धेरै अवसर गुमाउनुपर्यो ।”
नागरिकता पाएपछि जीवनको ठूलो बाधा हटेको महसुस मोहन गोडियाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी तामाङले संविधान र प्रचलित कानुनअनुसार नागरिकको पहिचान सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै नागरिकको हक अधिकार सुनिश्चित गर्न प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँका अनुसार नागरिकता वितरण प्रक्रियालाई पारदर्शी, सहज र सेवाग्राहीमैत्री बनाउँदै नागरिकका समस्यालाई संवेदनशीलतापूर्वक सम्बोधन गरिँदै आएको छ । जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै नागरिकका गुनासो तत्काल सम्बोधन गर्ने नीति लिएको जनाएको छ ।
कार्यालयभित्र अनुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्दै नागरिकको समय र श्रमको सम्मान गर्ने कार्यसंस्कृति विकास गरिँदै आएको प्रशासनको भनाइ छ । स्थानीय सरोकारवालाहरूले बाँकेमा पहिलो पटक आमाको नामबाट नागरिकता जारी हुनु सामाजिक न्याय र समावेशी प्रशासनको महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।






