बाँके, १८ पुस । “हामी बाँकेमा हरियाली फैलाउने, वातावरणीय सन्तुलन कायम राख्ने र कृषकको आम्दानी बढाउने उद्देश्यले बिरुवा वितरण र उत्पादनमा विशेष जोड दिएका छौँ ।” यो भनाई हो डिभिजन वन कार्यालय बाँकेको योजना शाखाका वरिष्ठ वन अधिकृत सुशील सुवेदीको ।
कुनै समय दाउरा र काठका लागि प्राकृतिक वनमै निर्भर रहँदै आएको बाँके जिल्ला अहिले विस्तारै निजी खेतबारी र सार्वजनिक स्थानमा हरियाली फैलाउने दिशातर्फ उन्मुख हुँदै आएको छ । यस परिवर्तनको आधार बनेको छ डिभिजन वन कार्यालय बाँके । उक्त कार्यालयद्वारा वितरण गरिएका लाखौँ बिरुवाले बाँकेको जमिनलाई हरिायाली बनाई रहेका छन् ।
गत आर्थिक वर्ष २०८१,०८२ मा कार्यालयले जिल्लाभरी नै ३० प्रजातिका पाँच लाख १३ हजार बिरुवा वितरण गरेको थियो । कार्यालयका अनुसार सो अवधिमा पाँच लाख ६१ हजार बिरुवा उत्पादन गरिएको थियो । ती बिरुवाहरू कृषकका निजी जग्गा, सामुदायिक वन, सडक किनार, धार्मिक स्थल तथा सार्वजनिक स्थानमा रोपिएका छन् । यसबारे सुवेदी भन्नुहुन्छ, “बिरुवा वितरणको उद्देश्य केवल हरियाली बढाउनु मात्र होइन, स्थानीय स्तरमै काठ र दाउराको आवश्यकता पूर्ति गर्नु पनि हो र यस्का साथै कृषकको आयआर्जन बढाउनु पनि हो ।”
बाँकेका केही पालिकामा वनक्षेत्र अत्यन्त न्यून छ भने केहीमा त वन नै छैन । यही अवस्थाले पछिल्ला वर्षहरूमा कृषकहरूलाई आफ्नै खेतबारीमा रुख रोप्न प्रेरित गरेको सुवेदीको भनाइ छ । “खेतको कान्ला, खाली जमिन र घरआँगनमा लगाइएका रुख अहिले कृषकको दैनिकीको महत्वपूर्ण हिस्सा बन्दै गएका छन् ।” उहाँले भन्नुभयो ।
कृषकहरू निजी खेतमा रुख रोप्न आकर्षित हुनुको पछाडि वातावरणीय चिन्तामात्र होइन, आर्थिक पक्ष पनि उत्तिकै महत्वपूर्ण रहेको सुवेदीको भनाई छ । छिटो बढ्ने र बजारमा माग हुने प्रजातिका बिरुवाबाट छोटो समयमा नै प्रतिफल पाइने भएकाले कृषकहरूको रुचि बढेको उहाँले बताउनुभयो । “कृषक छिटो आम्दानी दिने प्रजातितर्फ आकर्षित देखिएका छन्, यसले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुगेको छ ।”
विशेषगरी सागवान र युकालिप्टसजस्ता प्रजाति छिटो बढ्ने र सजिलै बिक्री हुने भएकाले यी विरुवाहरु नै कृषकको पहिलो रोजाइमा परेको सुबेदीको भनाई छ । एकवर्षीय प्रजातितर्फ सागवान, युकालिप्टस र खयरको माग बढी रहेको र बहुवर्षीय प्रजातितर्फ श्रीखण्ड, कल्कीफुल, ज्याकराण्डा, गुलमोहर, धुपी र जामुनजस्ता बिरुवा लोकप्रिय बन्दै गएको सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र कोहलपुर नगरपालिका आसपास भेनियर उद्योग, प्लाइउड उद्योग, इट्टा उद्योग तथा जडिबुटी प्रशोधन उद्योग सञ्चालनमा रहेकाले निजी खेतमा लगाइएका रुखको बजार सुनिश्चित हुँदै गएको छ । “यी उद्योगहरूमा काठ र दाउराको खपत बढी भएकाले निजी खेतमा उत्पादन भएको काठ उद्योगमा कच्चा पदार्थका रूपमा प्रयोग हुँदा कृषकको आम्दानी बढ्नुका साथै प्राकृतिक वनमा पर्ने मानवीय चाप पनि घटेको छ ।” उहाँले बताउनुभयो ।
डिभिजन वन कार्यालय बाँकेले बजारको मागसँगै वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणलाई पनि समान प्राथमिकतामा राखेको वरिष्ठ वन अधिकृत सुवेदीले बताउनुभयो । “प्राकृतिक वन पुनर्स्थापना र स्थानीय पारिस्थितिकी सन्तुलनका लागि साल, महुवा, खयर र सिसौजस्ता स्थानीय प्रजातिको उत्पादन तथा रोपणमा विशेष जोड दिइँदै आएको छ। बजारको माग र वातावरणीय सन्तुलन दुवैलाई ध्यानमा राखेर प्रजाति छनोट गरिएको छ ।”
हाल कोहलपुर, मेहनमानपुर, अगैया, शम्शेरगञ्ज, नरैनापुर तथा केन्द्रीय नर्सरीमार्फत जिल्लाका विभिन्न पालिकामा बिरुवा वितरण हुँदै आएको र चालु आर्थिक वर्षमा छ लाखभन्दा बढी बिरुवा उत्पादन गर्ने लक्ष्य लिइएको सुवेदीले जानकारी दिनुभयो । “यसका लागि जिल्लाका आठ वटा नर्सरीमा पोलिब्यागमा माटो भर्ने, ब्याड व्यवस्थापन, नर्सरी मर्मत तथा बिरुवाको गुणस्तर सुधारका कामहरू तीव्र रूपमा अघि बढाइएका छन् ।” उहाँले बताउनुभयो ।
उहाँका अनुसार नर्सरी व्यवस्थापन र बिरुवा उत्पादन कार्यमा स्थानीय महिलाको उल्लेखनीय सहभागिता देखिन थालेको छ । “यसले हरियाली विस्तारसँगै रोजगारी सिर्जना, सीप विकास र आत्मनिर्भरता प्रवद्र्धनमा पनि योगदान पुर्याइरहेको छ ।” पाँच लाखभन्दा बढी बिरुवाको वितरण केवल संख्यामा सीमित उपलब्धि नभएको सुवेदीको निष्कर्ष छ ।
बाँकेमा वनप्रतिको सोच, कृषकको जीविकोपार्जन र वातावरणीय जिम्मेवारीलाई एउटै धारमा जोड्ने काम गरेको छ । निजी खेतबारी हरियाली बन्दै जाँदा प्राकृतिक वनमाथिको दबाब घट्ने, ग्रामीण अर्थतन्त्र बलियो हुने र वातावरणीय सन्तुलन कायम रहने अपेक्षा गरिएको छ ।






