बाँके । बर्दियाको राजापुरमा घाइते अवस्थामा रहेको चितुवालाई नियन्त्रणमा लिएको छ । राजापुर नगरपालिका वार्ड नं १० कर्मोनी क्षेत्रमा घाइते अवस्थामा देखिएको भाले चितुवालाई आइतबार नियन्त्रणमा लिएको हो । बिहान खेतबारी नजिक चितुवा देखिएपछि स्थानीयवासीले वन कार्यालयलाई जानकारी गराएपछि चितुवालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को प्राविधिक टोलीले चितुवालाई डार्ट गरेर सुरक्षित रूपमा नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रारम्भिक परीक्षणमा चितुवा अन्य चितुवासँग जुध्दा घाइते भएको हुन सक्ने अनुमान गरिएको छ । हाल चितुवालाई वन कार्यालयको नियन्त्रणमा राखेर उपचार तथा निगरानी गरिएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । चितुवाको स्वास्थ्य अवस्थामा सुधार आएपछि आवश्यक प्रक्रिया पूरा गरी प्राकृतिक बासस्थानमै छाडिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

यसअघि शनिबार सोही वडाका ५२ वर्षीय हेमराज बुढाथोकी घर नजिकैको गोठमा गाईगोरु बाँधेर फर्कने क्रममा चितुवाको आक्रमणमा परेर घाइते हुनुभएको थियो । हाल उहाँको उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।
घटनापछि उक्त क्षेत्रका बासिन्दामा केही समय त्रास फैलिएको भए पनि चितुवालाई नियन्त्रणमा लिएपछि अवस्था सहज बनेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । वन कार्यालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै वन्यजन्तुसँगको सहअस्तित्वका लागि सहयोग गर्न अनुरोध समेत गरेको छ ।






