बाँके । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलका नेताले केही पनि गरेनन्, जनताका मुद्दा उठाएनन् र देश विकास गरेनन् भन्नु भ्रमपूर्ण रहेको बताउनुभएको छ । नेपालगन्जमा बिहीबार आयोजित बाँके जिल्ला स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले आफुहरु सरकारमा रहँदा उल्लेख्य कामहरु गरेको दाबी गर्दै आफुहरुको पालामा गरिएको राम्रा र विकासका कुराहरुलाई दबाउने प्रयास गरियो भन्दै यस्तो बताउनु भएको हो ।
‘पार्टीका नेताले केही पनि गरेनन् भनेर कु–प्रचार गरियो । म प्रधानमन्त्री भएको समयमा गरिब, दलित, आदिबासी जनजाति, सर्वहारा सुकुम्बासी र बिपन्न समुदायका लागि थुप्रै काम भएको छ ।’ उहाँले भन्नुभयो,‘हाम्रा पालामा भएको राम्रा कामको कूप्रचार गरियो । यो निकै नै दुःखको कुरा हो ।’ हिजोसम्म कहिले नेकपा एमाले, कहिले माओबादी, कहिले त कहिले समाजवादी भनेर हिंड्दा पनि देश विकसकै नारा लिएर हिंडेको बताउँदै नेता नेपालले अब पनि देशकै विकासका लागी नेपाली कम्युनिष्ट पार्टी नै योग्यको पार्टी भएको जिकीर गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै उहाँले त्याग, तपस्या र बलिदानको परीक्षामा उत्तीर्ण भएकाहरूले नै देशको नेतृत्व गर्न सक्ने बताउनुभयो । जनताको आधारभूत आवश्यकता पूरा गर्नु नै समाजबाद भएको उहाँको भनाई छ । २०६६ सालमा आफू प्रधानमन्त्री हुँदा ‘जनता आवास कार्यक्रम’ ल्याएको नेता नेपालले स्मरण गराउँदै भन्नुभयो, ‘जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्नु नै हाम्रो पार्टीको मुख्य उद्देश्य हो, जसको घर छैन, उसलाई सरकारले घर दिनुपर्छ भन्ने निर्णय गर्ने प्रधानमन्त्री म नै थिएँ ।’
आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिदै सह संयोजक नेपालले अब नयाँ नेपालको सपना बोकेर अगाडी बढ्नु पर्नेमा सबैलाई आग्रह समेत गर्नुभयो । फागुन २१ गते हुने चुनावमा नेपाली कम्युनिष्ट पार्टी सहभागी हुने र सफलता प्राप्त गर्नेमा आफुहरु विश्वस्त रहेको पनि नेता नेपालको भनाई थियो । नेकपा बाँकेका संयोजक नरेन्द्र पाण्डेको अध्यक्षतामा भएको सो सन्देश सभामा नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, कर्णजित बुढा र युवा नेता अब्दुल हुसेन खाँ लगायतले सम्बोधन गर्नुभयो ।






