बाँके । “सीप सिकौं, स्वरोजगार बनौं” भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक महिलाहरुका लागि तीन महिनाको सीपमूलक तालिम औपचारिक रूपमा सुरु गरिएको छ । पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा बाँकेको आयोजनामा तथा गोरखनाथ ट्रेनिङ सेन्टर प्रा.लिको प्रविधिक सहयोगमा सञ्चालन भइरहेको यो तालिमले घोडा, खच्चड, गधा लगायतका अश्वजन्य पशुपालनमा संलग्न महिलालाई सिलाइ–कटाइ र बुनाइको व्यावसायिक सीप प्रदान गर्ने उद्देश्य राखेको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा भेरी प्राधिक शिक्षालय बाँकेकी प्रमुख आशा श्रेष्ठले नेपाल सरकारले देशभर महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमलाई अत्यधिक प्राथमिकताका साथ लागू गरिरहेको बताउनुभयो । उहाँले बाँकेमा पनि विशेष गरेर मधेशी र मुस्लिम समूदायका महिला तथा किशोरीलाई सीपमा सक्षम बनाउन नेपाल सरकारले धेरै प्रभावकारी तालिमहरुको आयोजना गरेको जानकारी दिनुभयो ।
“यस किसिमका तालिमहरू केवल सीप प्रदान गर्ने कार्य मात्र नभई महिलालाई आत्मविश्वासी र आर्थिक रूपमा सक्षम बनाउँदछ ।” उहाँले भन्नुभयो, “नेपाल सरकारले महिला उद्यमशीलता प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाएको छ । तपाईंहरूले यो तालिम पूरा गरेपछि सरकारले उपलब्ध गराइरहेका विभिन्न सहुलियतपूर्ण कर्जासुविधा, समूह उद्यम स्थापनाका अनुदान, उपकरण सहयोग र बजार पहुँच कार्यक्रमबाट प्रत्यक्ष लाभ लिन सक्नुहुन्छ ।”
उहाँले सहभागी महिलालाई लक्षित गर्दै थप प्रेरणा दिँदै भन्नुभयो, “तपाईंले यहाँ सिक्ने सीप भविष्यमा तपाईंको आय–आर्जनको माध्यम बन्न सक्छ । तालिमपछि उत्पादन गर्ने हस्तकला वा पहिरनहरूलाई ग्रामीण बजारदेखि प्रदेशस्तरका मेलामा सहभागी गराउने व्यवस्थासमेत सरकारले मिलाइदिनेछ । आवश्यक परे व्यवसाय दर्तादेखि कर–सहजता सम्बन्धी मार्गदर्शनका लागि ‘महिला उद्यम सहयोग डेस्क’मार्फत निरन्तर सहयोग उपलब्ध गराइन्छ ।”
प्रमुख अथिती श्रेष्ठले धैर्य र निरन्तरता नै सफलताको कसी भएको उल्लेख गर्दै भन्नुभयो, “तपाईंहरूको परिश्रम, रुचि र सरकारको सहयोग मिसिएर अवश्य पनि तपाईंहरू आर्थिक रूपमा सबल र आत्मनिर्भर बन्नुहुनेछ । राज्य तपाईंहरूको सीप विकास, व्यवसाय प्रवर्द्धन र बजार विस्तारका प्रत्येक चरणमा साथ दिन तत्पर छ ।”
कार्यक्रमका क्रममा परियोजना संयोजक डा. सुदर्शन भट्टराईले पशुपालक समुदायका महिलाको वास्तविक आवश्यकता पहिचान गरेर तालिम सुरु गरिएको बताउनुभयो । “अश्वपालक परिवारमा पुरुष प्रायः दिनभर घोडा र खच्चड लिएर बाहिर काममा निस्किन्छन् । घरमा बस्ने महिलासँग सीप नहुँदा उनीहरू आर्थिक गतिविधिबाट टाढिन बाध्य छन् । यो तालिमले उनीहरूलाई सीपसम्पन्न बनाएर स्वरोजगारतर्फ अघि बढाउनेछ ।” उहाँले भन्नुभयो, “तपाईंहरूले यहाँ उपस्थित भएर सीप सिक्ने प्रतिबद्धता देखाउनु नै ठूलो उपलब्धि हो । हामीले न केवल सीप सिकाउँछौँ, आवश्यक परे स्वरोजगार स्थापना गर्न पनि मार्गदर्शन र अवसर प्रदान गर्छौँ ।”
गोरखनाथ ट्रेनिङ सेन्टर प्रा.लिका व्यवस्थापक निर्देशक मधु खड्काका अनुसार मंसिर २३ गतेदेखि फागुन २२ गतेसम्म सञ्चालन हुने यस तालिममा मुस्लिम समुदायका महिलासहित २० जना सहभागी भएका छन् । खड्काका अनुसार तालिमलाई व्यवहारिक र पूर्ण व्यावसायिक बनाउने उद्देश्यले अनुभवी प्रशिक्षक संगीता गौतमले सहभागीलाई प्रशिक्षण गर्नु हुनेछ ।
सहभागीहरुलाई तालिमका लागी आवश्यक सामग्री तथा उपकरण उपलब्ध गराइएको आयोजकले जनाएको छ । आयोजकहरूका अनुसार तालिम सम्पन्न भएपछि महिलाहरूलाई स्वरोजगारका अवसर खोजिदिन तथा सीपलाई व्यावहारिक उद्यममा रूपान्तरण गर्न समेत सहजीकरण गरिने छ ।






