रुपनी घर्ती मगर, बाँके । “बिटिया, पहिले त बिहानै नल्का चलेको आवाज सुनिन्थ्यो । उठ्ने बित्तिकै घर वरिपरि पानीको छ्यापछ्याप सुनिन्थ्यो, अब त एक लोटा पानी नल्काबाट निकाल्न पनि मुस्किलै पर्छ ।” यो भनाई हो बाँकेको बेलासपुरी ६५ वर्षीया शान्ति देवीको ।
शान्ति देवी मात्र होइनन्, नेपालगञ्ज र आसपासका गाउँहरुमा पानीको अभाव बढ्दै गई रहेको छ । चार–पाँच वर्षअघि घरको आँगनमा गाडिएको हातेपम्पबाट पानी सहजै आउँथ्यो । तर, पानीको सतह घट्दै जाँदा त्यो स्रोत अब पूर्ण रूपमा सुकिसकेको छ । उनीसहित सिंगो गाउँ नै एउटै हातेपम्पमा निर्भर थियो । तर स्रोत सुक्दा बिहान पानीको चिन्ताबाट हिजोआज उनीहरुको जीवन सुरू हुन्छ । पानी लिन दिनहुँ दुई किलोमिटर टाढाको सार्वजनिक हातेपम्प पुग्नुपर्छ ।
नेपालगन्ज–१२ का दीपक वर्मा पनि पानी अभावको मारमा छन् । उनी भन्छन्, “मरघटिया ताल हुँदा बस्तीका सबै नल्कामा पानी भरपूर आउँथ्यो । ताल पुरिएपछि बस्ती नै तिर्सिएको छ ।” सन् २०७८ मा करिब ६ कट्ठा सार्वजनिक जमिनमा फैलिएको ताल पुरेर एभिएशन म्यूजियम बनाइयो । एक करोड ८० लाख लागतमा बनेको म्यूजियम दुई वर्षमै बन्द भयो । तर ताल नष्ट भएपछि सुरु भएको पानीको अभाव अझै समाधान भएको छैन ।
बाँकेको अवस्था यसरी मात्र होइन । राष्ट्रिय ताल संरक्षण विकास समितिको अध्ययनअनुसार बाँकेमा पहिल्यै २४३ प्राकृतिक ताल थिए, तर तीमध्ये २३७ वटा तालतलैया मासिइसकेका छन् । यसकारण भूमिगत पानी पुनर्भरण अवरुद्ध भएको छ। पानी तान्ने हातेपम्प र बोरिङ सबै प्रभावित छन् । खानेपानी तथा सरसफाइ कार्यालय, नेपालगन्जका प्राविधिक अधिकृत खगेन्द्र खत्रीका अनुसार तालतलैया वर्षाको पानी भूमिगत तहमा पु¥याउने प्राकृतिक प्रणाली हुन् । “ताल सुक्यो भने पानी जमिनमुनि पुग्ने बाटो बन्द हुन्छ ।” उनले भने । बाँकेमा भूमिगत पानीको सतह बर्सेनि औसत दुई मिटरले घटिरहेको तथ्यांकले देखाएको छ ।
बाँकेमा ८३ दशमलव ८४ प्रतिशत घरधुरी भूमिगत पानीमा निर्भर छन्हा । तेपम्प, डीप बोरिङ, इनार वा बजारको जार पानी । तर पानीको अत्यधिक दोहन, पुनर्भरण अभाव, शहरी क्षेत्र कंक्रीटले ढाकिएको, खेती प्लटिङमा परिणत भएको र वर्षा छोटो अवधिमा हुने भएपछि भूमिगत पानीको प्राकृतिक चक्र कमजोर भएको छ । नेपालगन्जभित्रका कान्ति ताल, फूलटेक्रा, लग्दवा, नानापुर, बनकट्टा, फुटाहा, रानी, तेरी र सुतैया जस्ता तालहरू अस्तित्व संकटमा छन् । कतै फोहोर फालिन्छ, कतै माछापालन र व्यावसायिक गतिविधिले प्राकृतिक संरचना बिगार्दैछ। केही वर्षअघिसम्म ३२ प्रजातिका चराहरू आउने कान्ति ताल आज सुक्खा डुँड बनेको छ ।
जलविज्ञ रमेश गौतमका अनुसार भूमिगत पानी पुनर्भरणमा तालतलैया सबैभन्दा प्रभावकारी माध्यम हुन् । वर्षाको पानीमध्ये जम्मा १५ प्रतिशत मात्र भूमिगत तहमा पुग्छ, बाँकी सतहबाट बगेर जान्छ वा बाफ बनेर उड्छ । पहिले धान खेतले वर्षाको ४० प्रतिशत पानी भूमिगत तहमा पुर्याउँथ्यो, तर अहिले खेतहरू प्लटिङ भइसकेका छन् । भूमिगत पानीको सतह घट्दा वातावरणीय असन्तुलन पनि देखिन्छ । बिरुवाका जराले पानी भेट्दैनन्, जमिन तात्छ, तापक्रम बढ्छ । नेपालगन्जमा बढ्दो गर्मी यही कारणले जटिल बनिरहेको छ ।
बाँकेमा पानीको अभावसँगै स्वास्थ्य समस्या पनि बढिरहेको छ । घर–घर पानी पुगी नपुगेको र दूषित पानी पिउने कारण सरसफाइ सम्बन्धी समस्या देखा परेको छ। बालबालिका र वृद्धवृद्धा बढी जोखिममा छन् । समाधान कुनै जटिल उपाय होइन—ताल पुनःस्थापना, वर्षा पानी संकलन, घर–घरमा साना पोखरी, खुला जमिन संरक्षण, र अनियोजित शहरीकरण रोक्नु नै प्रभावकारी उपाय हुन् । खानेपानी कार्यालयले केही क्षेत्रमा पुनर्भरण पोखरी बनाएको भए पनि संरक्षण अभावमा ती पनि हराउँदै छन् ।
स्थानीय सरकारले विकासका नाममा ताल पुरेर संरचना बनाउने प्रवृत्ति तत्काल रोक्नु आवश्यक छ। प्रकृतिले बनाएको जलभण्डार नष्ट गरेर विकास गर्न सकिँदैन । शान्ति देवीले भनिन्, “ताल जोगाए मात्रै त हो, पानी फेरि फिर्ता आउँछ। नभए तिर्खाले हाम्रो पुस्ता मात्र होइन, भोलिका नानी–बाबु पनि डुवाउनेछ ।” आज तिर्खाएको तराईसँगै पानी उम्कने छायाँ जत्तिकै डरलाग्दो बन्दै गईरहेको छ बाँके ।






