रुपनी घर्ती मगर, बाँके । बाँके जिल्ला भौगोलिक हिसाबले ठुलो क्षेत्रफलमा फैलिएको बाटोघाटोको सजिलै पहूँच भएको जिल्ला भएतापनि जहाँ एक समय स्वास्थ्य सेवा पहुँचको कुरा त आफ्नै सपना जस्तो थियो । त्यही गाउँमा अहिले आशाको किरण फैलिरहेको छ । यो परिवर्तनको केन्द्रबिन्दुमा छिन् स्वास्थ्यकर्मी सामना क्षेत्री, जस्ले आफ्नो ममतामयी हात र निर्भीक सेवा–भावनाले गाउँभरि विश्वासको सेतु बनाएकी छिन् ।
नरैनापुर गाउँपालिका वडा नं १ को स्वास्थ्य चौकीमा काम गर्ने अनमी सामना क्षेत्रीलाई एक आमाको मुस्कानले मात्र होइन, गाउँलेको भलोमा गरेको कामले चिनिन्छ । उनलाई देख्दा नवजात शिशुहरूलाई स्वास्थ्य परीक्षण गर्दै, आमाहरूलाई सहज बनाउँदै उनलाई देखेर गाउँलेहरू निश्चिन्त हुन्छन्, “यहाँ हाम्रो जीवन सुरक्षित छ ।”
सामना र उनका साथीहरूले सुरक्षित प्रसूति सेवा मात्र दिन्छन् भन्ने छैन । उनीहरूले घरमै जन्म लिने जोखिमलाई चुनौती दिँदै स्वास्थ्य चौकीमा आमाहरूलाई ल्याउन सफल भएका छन् । यसको प्रतिफल स्वरूप, मातृमृत्यु दरमा उल्लेखनीय कमी आएको छ । सामना आफैं भन्छिन्, “नियमित स्वास्थ्य परीक्षण, सुरक्षित प्रसूति सेवा र मातृस्वास्थ् स्पष्ट चेतना भएपछि ग्रामीण महिलामा आत्मविश्वास बढेको छ ।”
उनको मेहनतले यस आर्थिक वर्षका पहिलो चार महिनामा मात्रै ७३ जना नवजात शिशुहरू सुरक्षित जन्म लिएका छन् । यो संख्या यहाँको स्वास्थ्य चौकीका लागि प्रेरणादायी हो । चौकी इन्चार्ज दिनेश मौर्य बताउँछन्, “हामी प्रत्येक आमालाई सुरक्षित प्रसूति सेवा दिन प्रतिबद्ध छौँ ।” स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाह थप्छन्, “यहाँ शहरका अस्पतालमा जस्तै दक्ष स्वास्थ्यकर्मीहरू गाउँमै उपलब्ध छन् ।”
नरैनापुर गाउँपालिकाका स्वास्थ्य चौकीहरू अहिले २४ घण्टा खुला छन् । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह भन्छन्, “स्वास्थ्यकर्मीहरूको निरन्तर सेवा र सम्बन्धले हाम्रो गाउँमा नयाँ स्वास्थ्य क्रान्ति आएको छ ।” प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले पनि सबै स्थानीय इकाइ र सदस्यहरूलाई स्वास्थ्य सेवामा साझा जिम्मेवारीमा जोड दिन आग्रह गरेका छन्, “गुणस्तरीय सेवा प्रवाहका लागि हामी सबैले हातेमालो गर्नुपर्छ ।”
गाउँका आमाबुबाहरू पनि यही परिवर्तनका गवाही दिन्छन् । नरैनापुर–६ का स्थानीय, भरत कुर्मी भन्छन्, “साउनदेखि कार्तिकसम्म ८० आमाहरूले सुरक्षित रूपमा यहाँ शिशु जन्माएका छन् । पहिले त शहर जानुपर्थ्यो, अहिले आफ्नै गाउँमै भरोसा छ ।” नरैनापुर २ का कर्णजीत सिंहले थपे, “मातृत्व जोखिमले डराउने महिलाहरूले अहिले सहजता पाएकी छन्, किनभने यहाँको स्वास्थ्य चौकीले चौबीसै घण्टामा सेवा दिन्छ ।”
नरैनापुर मात्र होइन, राप्तिसोनारी गाउँपालिकाभित्रको अर्को स्वास्थ्य चौकी विनौना स्वास्थ्य चौकी पनि परिवर्तनको चिनारी बनेको छ । विगतमा सीमित स्रोत र समयले सीमित सेवा दिनुपर्ने संकट झेल्दै आएको यो चौकी अहिले आत्मविश्वासका साथ उत्तरोत्तर विस्तार भइरहेको छ । विनौनाका स्थानीय महिला, सीता मगर, आफ्नो अनुभव सुनाउँछिन्, “मलाई बेला बेलामा पेट दुख्ने समस्या हुन्थ्यो, तर समयमै चेकअप गर्न चौकीसम्म पुग्न मुश्किल थियो । अहिले चौकी खुला छ, स्वास्थ्यकर्मीहरू सधैं यहाँ भेटिन्छन् । म सुरक्षित महसुस गर्छु।”
सीताले झैं रामप्रसाद घर्ती, भन्छन्, “हामीले हाम्रो गाउँमै स्वास्थ्य सेवा पाउनु हाम्रो लागि ठूलो उपलब्धि हो । विगतमा बिरामी भए शहर जानु पर्थ्यो, अहिले चौकीले त्यो दूरी घटाएको छ ।” विनौना स्वास्थ्य चौकीमा अहिले मातृ–नवजात सेवा, समयमै चेकअप, पोषण सल्लाह, र ओछ्यान सुविधा समेत विस्तार गरिएको छ । २४ घण्टा उपलब्धताको व्यवस्था केही सीमामा भए पनि, बिहानका र रातका घण्टा सक्रिय रूपमा स्वास्थ्यकर्मीहरु खटिएका छन् । यसले गर्दा गर्भवती महिलाहरू र नयाँ आमाहरू धेरै सहज महसुस गर्दछन् ।
बाँके जिल्लाको जनस्वास्थ्य कार्यालयले सार्वजनिक रुपमा उपलब्ध गराएको तथ्यांकले यस क्षेत्रमा अझ स्पष्टता दिन्छ । बाँके स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले स्वास्थ्यका विविध कार्यक्रम सञ्चालन गरिरहेका छन् । साथै, सार्वजनिक रिपोर्ट अनुसार, बाँके जिल्लामा २०८०, ०८१ वित्तीय वर्ष मा ३२ मातृ मृत्यु देखिएका थिए ।
अर्कोतर्फ, नेपाल इनडाटाका तथ्यांकले बाँके जिल्लाको मातृ मृत्यु अनुपात करीब १४६ प्रति १००,००० जन्म रहेको देखाएका छन् । बाल स्वास्थ्यका दृष्टिले पनि चुनौती कम छैन । पछिल्लो रिपोर्टअनुसार, बाँकेमा पाँच वर्षमुनिका १५०० भन्दा बढी बालबालिका मधुमान पोषण संकट सँग जुधिरहेका छन् । यति ठूलो स्वास्थ्य समस्या हुँदाहुँदै पनि, स्थानीय स्वास्थ्य चौकीहरूमा पोषण र मातृ–नवजात सेवा विस्तार भएकोले सकारात्मक आशा देखिएको छ ।
यस्का साथै कतिपय महिलाहरूले सहज यातायात नहुँदा धेरै नै समस्या भोग्नु परी रहेको छ । स्वास्थ्य परामर्श र संसाधनमा सुधार चाहिन्छ, र चेतना अझ गहिरो बनाउनुपर्ने अवस्था छ । यस्मा धेरै नै चुनौतिहरु छन् । तर यो परिवर्तन पूर्ण रूपमा समान रूपमा सबै वडामा फैलिएको छैन । केही वडाहरूमा प्रशासनिक ढिला र संसाधन निकासा कठिनाईले सेवा प्रभावकारी रूपमा पुर्याउन समस्या आएको छ । त्यसैले, स्वास्थ्य क्षेत्र सुधारका लागि स्थानीय जनप्रतिनिधिहरू र प्रशासन बीच अझ सुदृढ समन्वय आवश्यक छ ।
नरैनापुर गाउँपालिकामा स्वास्थ्यकर्मी सामना क्षेत्री जस्ता समर्पित स्वास्थ्यकर्मीहरूको उपस्थितिले जीवन मात्र सुरक्षित गरेको छैन, आत्मविश्वास पनि जगाएको छ । विनौना स्वास्थ्य चौकी जस्ता सेवा केन्द्रहरूको विस्तारले नयाँ आशा दिएको छ । बाँके जिल्लाको जनस्वास्थ्य कार्यालयका तथ्यांकले देखाउँछन् कि यद्यपि चुनौतिहरू छन् । तर मातृ मृत्यु, बाल पोषण, संसाधनको कमी देखिएता पनि अग्रसरता भने बढिरहेको छ ।
स्थानीय सरकार, स्वास्थ्यकर्मी र समुदाय मिलेर काम गर्न सके बाँके जिल्लामा रहेका स्वास्थय केन्द्रहरुले आफ्नो स्वास्थ्य भविष्यलाई अझ उज्यालो तर्फ अघि बढ्न सक्छन् । सामना क्षेत्रीको ममतामयी हाँसोलाई, चौकीहरूको २४–घण्टा सेवा व्यवस्थालाई र स्थानीयहरूको विश्वासलाई आधार बनाएर, नरैनापुर एक उदाहरण बन्न सकेको छ भने अरु स्वास्थ्य चौकीहरु किन नसक्ने भन्ने प्रश्न यतिबेला जन्मिएको छ । सेवा विकल्प मात्र होइन, सबैका लागि अधिकार पनि हो ।






