रुपनी घर्ती मगर, बाँके । बाँके राष्ट्रिय निकुञ्ज नेपालका १२ वटा राष्ट्रिय निकुञ्जमध्ये एक हो । यो कान्छो निकशुञ्जका रुपमा चिनिन्छ । जसले देशको जैविक विविधता, वन्यजन्तु संरक्षण, पारिस्थितिक सन्तुलन र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ ।
सन् २०१० मा सरकारी निर्णयबाट स्थापित यो निकुञ्ज नेपालगञ्ज, कोहलपुर, राप्ती–बबई क्षेत्र तथा मध्यपश्चिमका विभिन्न ग्रामीण बस्तीहरूसँग प्रत्यक्ष रूपमा जोडिएको प्राकृतिक क्षेत्र हो । बाँके राष्ट्रिय निकुञ्जलाई ‘गिफ्ट टु द अर्थ’ उपाधि समेत प्रदान गरिएको छ, जसले यसको अन्तर्राष्ट्रिय महत्वलाई समेत प्रष्ट पार्छ ।
५५ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उक्त निकुन्ञ्ज जसले चुरे–भवर क्षेत्रदेखि लिएर तराईका घना वनसम्म फैलिएको विविध पारिस्थितिक परिदृश्य समेट्छ । यहाँ साल, खैर, सिसौ, जमुन, काठमसालजस्ता प्रजातिका घना वन भेटिन्छन् । यी वनहरू वासस्थानका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छन् । निकुञ्जको ६ सय ५ क्षेत्रमा साल वन हावी छ । जस्ले वन्यजन्तुको सुरक्षा तथा प्राकृतिक सन्तुलन कायम राख्न ठूलो भूमिका खेलेको छ ।
बाँके राष्ट्रिय निकुञ्जको मुख्य पहिचान बाघ संरक्षण हो । यहाँ २०३० सम्म बाघको संख्या दोब्बर बनाउने राष्ट्रिय लक्ष्य (टेक्स–डबल टाइगर टार्गेट) पूरा गर्नका लागि महत्त्वपूर्ण काम भइरहेको छ । हालैका सूचनाहरूअनुसार निकुञ्जमा बाघको संख्या क्रमशः बढिरहेको छ । यहाँका पछिल्लो समयमा वन्यजन्तुको आहारका बढाउनका लागी घाँसे मैदानको पनि संख्या बढाईढएको छ । जसले संरक्षण कार्यलाई सफल देखाउँछ ।
यसका साथै, यहाँ एकसिंगे गैँडा, हात्ती, भालु, नीलगाई, चित्तल, वन सुँगुर लगाएत विभिन्न प्रजातिका चराहरू लगभग ३०० भन्दा बढी चराचुरुंगी र वन्यजस्तुहरुको बसोबास रहेको छ । यो निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्जसँग जैविक कोरिडोरमार्फत जोडिएको छ । जसले बाघ, हात्ती, गैँडाजस्ता ठूलो आकारका प्रजातिको आवतजावतलाई सहज बनाउँछ ।
निकुञ्जको प्रगति जति सकारात्मक देखिए पनि यसले धेरै चुनौतीहरूको सामना गरिरहेको छ । निकुञ्जमा बाघ, हात्ती र भालुका कारण आसपासका बस्तीहरूमा क्षति हुने गरेको छ । विशेषगरी हात्तीले कृषकहरूको बाली नष्ट गर्ने र बाघले घरेलु जनावर मार्ने घटनाहरू बढ्दै गएका छन् । जस्ले मानव वन्यजन्तु द्वन्द्व बेलाबलामा भई रहेका पनि हुन्छन् ।
यस्का साथै निकुञ्जमा अवैध वनकटानी र चोरी शिकारी तस्करीको पनि घटनाहरु समय समयमा भई रहेका हुन्छन् । निकुञ्ज स्थापना र सुरक्षा व्यवस्था कडा भए पनि केही दुर्गम क्षेत्रमा चोरी शिकारी तथा दाउरा–घाँस संकलनका अवैध गतिविधि अझै पनि चुनौती बनेका छन् ।
देशकै कान्छो निकुञ्जको रुपमा स्थापना गरिएको यो निकुञ्जमा सम्भावना धेरै भए पनि पर्यटकीय पूर्वाधार पर्याप्त छैन । होटल, होमस्टे, सफारी, ट्रेकिङ मार्ग, गाइड तालिम, सूचना केन्द्र आदिमा अझै विकास अपेक्षित छ ।
निकुञ्जको भौगोलिक स्थिति नेपाल–भारत सीमाको नजिक भएकाले दुवै देशका पर्यटकका लागि सहज गन्तव्य बन्न सक्छ। यहाँ जंगल सफारी, बर्ड–वाचिङ, रिसर्च–टुर, होमस्टे पर्यटनजस्ता गतिविधि विस्तार गर्न सकिन्छ। यदि स्थानीय जनसहभागिता, निजी क्षेत्रको लगानी र सरकारी नीति प्रभावकारी भयो भने बाँके राष्ट्रिय निकुञ्ज निकट भविष्यमा नेपालको प्रमुख जैविक पर्यटन केन्द्र बन्न सक्छ ।
बाँके राष्ट्रिय निकुञ्जको वर्तमान अवस्था संरक्षणका दृष्टिले सकारात्मक छ । बाघको बढ्दो संख्या, जैविक विविधताको समृद्धि र स्थानीय समुदायको सहभागिताले निकुञ्जको उज्ज्वल भविष्यमाथि आशा जगाउँछ । तर मानव–वन्यजन्तु द्वन्द्व, चोरी शिकारी, पूर्वाधार अभावजस्ता चुनौती समाधान नगरेसम्म यसको सम्भावना पूर्ण रूपमा खुल्ने छैन ।






