बाँके । जैविक विविधता संरक्षणका दृष्टिले उच्च संवेदनशील मानिने बाँके राष्ट्रिय निकुञ्जको निषेधित क्षेत्रमा वनभोज गरेको र होहल्ला गरेको भिडियो भिडियो सार्वजनिक भएका छन् । निकुञ्जभित्रको स्यालमारे मचान पुगेर एक समूहले आईबार घरमा पकाएर लगिएको खाना प्रयोग गर्दै वनभोज गरेको र ठूलो आवाजमा होहल्ला गरेको भिडियो तथा तस्बिर उनीहरूले नै सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
सोही समूहमा गएका नाट्टा बाँकेका पुर्व अध्यक्ष श्रीराम सिग्देलले आफ्नो आधिकारीक फेसबुक पेजमा उक्त तस्विर भिडियो सार्वजनिक गर्नु भएको छ । भिडियोमा स्यालमारे मचानको मुनी बुकिंग गरिएको दुई वटा टुरिस्ट गाडीमा बसेर २४ जनाको समूहले ठूलो आवाजमा रमाइलो गरिएको स्पष्ट देखिन्छ । बाँके राष्ट्रिय निकुञ्ज तथा बफर जोन व्यवस्थापनले लागू गर्दै आएको प्रचलित नियमावलीमा संरक्षित क्षेत्रमा मानवीय गतिविधि कडाइका साथ सीमित गरिएको छ ।
निकुञ्जका आधिकारिक कागजात तथा सूचना अनुसार निर्धारित क्याम्पसाइट बाहिर वनभोज गर्न नपाइने, आगो बाल्न नपाइने, घरमा पकाएको खाना लिएर निकुञ्जभित्र प्रवेश गर्न नपाइने, होहल्ला, चर्को आवाज, संगीत वा ध्वनि प्रदूषणका कुनै पनि रूप गर्न अनुमति नहुने जनाईएको छ । नियमावलीमा वन्यजन्तुको प्राकृतिक बासस्थान वरपर मानवीय गतिविधि अत्यन्त न्यून राख्नु पर्ने स्पष्ट उल्लेख छ ।
यी प्रावधानहरू वन्यजन्तुको व्यवहारगत सुरक्षादेखि पर्यावरणीय संवेदनशीलता र अन्तर्राष्ट्रिय संरक्षण मान्यतासम्मका आधारमा तयार गरिएका हुन् । बाँकेको गाभर भ्यालीबाट करिब एक किलोमिटर उत्तरतर्फ रहेको स्यालमारे मचान बाँके राष्ट्रिय निकुञ्जका मध्यवर्ती संवेदनशील क्षेत्रमध्ये एक हो । यहाँ दुर्लभ प्रजातिका चरा, बाघ, हरिण, बाँदर तथा अन्य स्तनधारी जनावरहरूको स्वाभाविक गतिविधि नजिकबाट अवलोकन गर्न सकिने भएकाले निकुञ्जले यो क्षेत्रलाई शान्त वातावरण अनिवार्य हुने स्थानका रूपमा वर्गीकृत गरेको छ ।
यो क्षेत्र विशेषगरी बिहान–साँझ वन्यजन्तुको प्राकृतिक गतिविधि, प्रजनन व्यवहार तथा आवागमनको मुख्य स्थान भएकाले ध्वनि प्रदूषण, खुला वनभोज, आगो वा भीडभाडजन्य गतिविधि अत्यन्त जोखिमपूर्ण मानिन्छ । यस्तै वातावरणमा होहल्ला र खाद्य–मानव गन्ध फैलिनु वन्यजन्तुको गतिविधिमा अवाञ्छित हस्तक्षेप मानिन्छ । जस्ले उनीहरूको प्राकृतिक बानी–व्यवहारमा दिर्घकालीन असर पार्न सक्छ ।
यस कारण, निकुञ्जले स्यालमारे र यस्तै अन्य मचानहरूलाई ‘उच्च संवेदनशील क्षेत्र’ घोषणा गर्दै नियन्त्रणका निर्देशिका जारी गर्दै आएको छ । निकुञ्ज भित्र हुने प्रत्येक गतिविधि अन्तर्राष्ट्रिय दायित्व, जैविक विविधता संरक्षण र पर्यावरणीय दिगोपनासँग जोडिएको हुनाले यस्ता गतिविधि राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमै वाइल्डलाइफ संरक्षणको छविसँग जोडिन्छ । बाँके राष्ट्रिय निकुञ्ज भित्र १९ वटा मचान रहेकाछन् ।






