बाँके । भदौ २४ गते जेन्जीको नाममा गरिएको प्रदर्शनमा बाँकेको कोहलपुरमा रहेको राजस्व अनुसन्धान कार्यालयमा पुर्ण रुपमा आगजनी गरिएको थियो । सोही क्रममा भएको आगजनी तथा लुटपाटपछिको घटनामा लुटिएका गरगहना र नगद प्रहरीमार्फत फिर्ता गरिएको छ । ईलाका प्रहरी कार्यालय बाँकेका अनुसार उकत कार्यालयमा भएको तोडफोड र आगजनीको घटनामा लुटिएका गरगहना र नगद स्थानीय तथा समाज सेवीहरूको सक्रिय पहलमा प्रहरीमार्फत फिर्ता गरिएको हो ।
कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा प्रदर्शनको क्रममा भएको उक्त घटनामा संलग्न व्यक्तिहरूमध्ये कोहलपुर नगरपालिका–१ का ३२ वर्षीय अजय परियारसहितका केही व्यक्तिहरूले ती सामानहरू इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएका हुन् ।
फिर्ता गरिएका सामग्रीमा नेपाली रुपैयाँ १ लाख १७ हजार ६५० र भारतीय रुपैयाँ ८४ हजार ३ सय ६० रहेका छन् । त्यसैगरी भारतीय रकम नेपाली रुपैयाँमा रूपान्तरण गर्दा १ लाख ३४ हजार ९ सय ७६ बराबर हुने जनाइएको छ । यसरी जम्मा नगदको परिमाण दुई लाख ५२ हजार ६ सय २६ रुपैयाँ रहेको छ यसकासाथै, ४२१.३२ ग्राम सुन र ९ किलो ९ सय ८४ ग्राम चाँदीसमेत फिर्ता गरिएको प्रहरीले जनाएको छ ।
उक्त सामग्रीहरू इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएपछि विधिपूर्वक मुचुल्का तयार पारिएको थियो । राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँकेका शाखा अधिकृत खडक प्रसाद उपाध्याय, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा भद्रभलाद्मीहरूको रोहबरमा मुचुल्का तयार पारिएको थियो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले सो घटनामा हराएका सामग्री फिर्ता हुनुलाई स्थानीय समुदायको सहयोग र प्रहरीप्रतिको विश्वासको उदाहरणको रूपमा लिन सकिने बताउनु भयो,“घटनापछि स्थानीय समाजसेवी, जनप्रतिनिधि र सुरक्षाकर्मीहरूको समन्वयमा काम गर्दा यस्तो सकारात्मक नतिजा आएको हो,” डीएसपी खनालले भन्नुभयो ।
उहाँका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र अनुसन्धानको काम भने अझै जारी छ । प्रहरी स्रोतका अनुसार फिर्ता गरिएका सम्पूर्ण सामग्रीहरू हाल इलाका प्रहरी कार्यालय कोहलपुरमा सुरक्षित रूपमा राखिएको छ ।






