बाँके, बाँकेको राप्तीसोनारी गाउँपालिका–२ माथेबासमा वन्यजन्तुको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । वडा नं. ३ सिनावाझकी ४५ वर्षीया लक्ष्मी थारूको जनमुखि सामुदायिक वन नजिकै वन्यजन्तुको आक्रमणमा परी ज्यान गएको हो ।
सबडिभिजन वन कार्यालय शम्शेरगञ्ज, बाँकेका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार लक्ष्मी थारू हिजो साँझ आफन्तको घरबाट घर फर्किने क्रममा नहरको बाटो हुँदै फर्किंदै थिइन् । सोही क्रममा सामुदायिक वन क्षेत्रमा रहेको खानेपानी ट्यांकी नजिकै उनलाई अज्ञात वन्यजन्तुले आक्रमण गरेको बताइएको छ ।
वरिष्ठ वन अधिकृत शर्माले स्थानीयको भनाइ उद्धृत गर्दै भने,“लक्ष्मी थारूलाई आइतबार साँझ उक्त बाटोमा हिंडिरहेको देखिएको थियो । समयमै घर नपुगेपछि परिवारले खोजी गर्दा, मृतक आफन्तको घरबाट फर्किसकेको भनिए पनि घरमा नपुगेपछि खोजी कार्य अघि बढाइएको थियो ।”
खोजीको क्रममा सामुदायिक वनको खानेपानी ट्यांकी नजिकै मृतक थारुको शव फेला परेको हो । शवलाई पोष्टमार्टमका लागी भेरी अस्पताल लगिएको छ । पोष्टमार्टम रिपोर्ट भोलिसम्म प्राप्त हुने जानकारी वरिष्ठ वन अधिकृत शर्माले दिएका छन् ।
उक्त क्षेत्रमै वन्यजन्तुको आक्रमणका यस्ता घटनाहरू दोहोरिन थालेपछि आजै बाँके राष्ट्रिय निकुञ्ज र जुलेजिकल सोसाइटी अफ वेस्टर्न नेपाल फिल्ड कार्यालय कोहलपुरको समन्वयमा घटनास्थल आसपास पाँच वटा निगरानी क्यामेरा जडान गरिएको छ ।






