रुपनी जि एम, नेपाल आफैंमा एउटा विकासोन्मुख देश हो । विकासको नाममा धेरै दशक बिते, असंख्य योजना र घोषणा भए, तर अपेक्षित प्रगति भने पाइएन । देशको यात्रा कछुवाको गतिमा अघि बढिरह्यो । शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन—हरेक क्षेत्रमा अपूर्णता नै अपूर्णता छ । यस्तो देशमा, जहाँ स्थिरता र सहमतिको वातावरण सबैभन्दा ठूलो आवश्यकता थियो, त्यतिखेरै एउटा विद्वंसात्मक आन्दोलनको ज्वालामुखी विस्फोट भयो । प्रश्न उठ्छ—यस्ता आन्दोलनहरूले साँच्चै सुन्दर, समुन्नत र परिवर्तनकारी नेपालको परिकल्पना गर्न सक्छन् त ?
इतिहासले दिएको सन्देशः
इतिहासका पानामा नजर दौडाउँदा देखिन्छ—जब देशमा नयाँ परिवर्तनको आवश्यकता महसुस भयो, त्यतिबेला क्रान्तिहरू जन्मिए । तर ती क्रान्तिहरू केवल भावनामा मात्र आधारित थिएनन् । ती स्पष्ट उद्देश्यसहित, सक्षम नेतृत्वसहित र त्यागी आत्माहरूको मार्गदर्शनमा अघि बढेका आन्दोलनहरू थिए । परिणामस्वरूप, देशले नयाँ स्वरूप पायो, राजनीतिक र सामाजिक संरचना नयाँ आयामतर्फ उन्मुख भयो ।
आजको जेन्जी आन्दोलनले पनि प्रारम्भमा त्यस्तै अपेक्षा बोकेको थियो । युवाहरूले आफ्नो आवाज बुलन्द पारे, शान्तिपूर्ण प्रदर्शनमार्फत देशको ध्यान ताने। हरेक आमा–बुबाले आफ्ना छोराछोरीका मागलाई समर्थन गरे, समाजले पनि “यो पुस्ताले केही नयाँ ल्याउँछ” भन्ने विश्वास गर्यो ।
आन्दोलनको उग्र मोडः
तर समयसँगै जेन्जी आन्दोलन शान्तिपूर्ण बाटोबाट हट्दै हिंसात्मक दिशातर्फ मोडियो। सार्वजनिक सम्पत्ति जलाइयो, ऐतिहासिक धरोहरहरू भताभुङ्ग पारियो । यो देखेर नागरिक समाज र अगुवाहरूले चेतावनी दिए—“जेन्जीको नाममा घुसपैठ भइसकेको छ, अब सावधान होऊ ।” अबोध बालबालिकासम्मलाई मोहोरा बनाएर आन्दोलनमा प्रयोग गर्न थालिएकोमा समाज आक्रोशित भयो । आन्दोलनका नाममा जे जति लुटपाट, आगजनी र क्षति भयो, त्यसले नेपाललाई ५० वर्ष पछाडि धकेल्यो भन्ने टिप्पणीहरू भइरहेका छन् ।
युवामा जोश हुन्छ, आक्रोश हुन्छ, जुनून हुन्छ—तर त्यो आक्रोश कहिल्यै निर्दोषलाई जलाउने हुन सक्दैन । संसद् भवन अगाडि भएको हिंसात्मक प्रदर्शन, सुरक्षा निकायसँगको भिडन्त र आगोको ज्वालाले आन्दोलनको पवित्रता भताभुङ्ग पारिदियो । सरकार गोली प्रहार गर्न बाध्य भएको घटना आफैंमा दुःखद र निन्दनीय छ । तर, प्रश्न अझै खुला छ—आन्दोलनलाई यति हिंसात्मक मोडतर्फ धकेल्नेहरूको छानबिन कसले गर्ने ?
विकास र विनाशबीचको प्रश्नः
नेपाल आफैंमा विकासोन्मुख देश हो । यहाँको विकास यात्रा असंख्य चुनौतीसँग जुध्दै अघि बढिरहेको छ । बिस्तारै भए पनि देशले शिक्षा, पूर्वाधार, दिगोपनाको दिशामा पाइला चालिरहेको थियो । तर जब आन्दोलन विनाशकारी मोडतर्फ गयो, त्यतिबेला देशले अगाडि बढाउने सारा प्रयास क्षणभरमै ध्वस्त भएको जस्तो लाग्यो । नेपाल आमाको छातिमा उफ्रिएर उनैको मुखमा आगोको ज्वारभाटा झोस्ने यस्तो आन्दोलनले के साँच्चै विकासको बाटो खोल्छ त ? के आगो र रक्तपातको छाँयामा हामीले सुन्दर नेपालको कल्पना गर्न सक्छौं ? यो प्रश्न हरेक नेपालीले आज आत्ममन्थन गरेर सोध्नैपर्ने समय आएको छ ।
अबोध जीवनहरूको बलिदानः
आन्दोलनमा ढलेका विद्यार्थीहरू केवल “आन्दोलनका संख्या” मात्र थिएनन् । उनीहरू सपना बोकेका जीवनहरू थिए । हरेक आमा–बुबाको भविष्य थिए । सडकमा ढलेका ती शरीरले आमाको काख भिजाए, बुबाको आँखा रसाए, सम्पूर्ण नेपाली समाजलाई स्तब्ध बनाए । जो अस्ताएर गए । ति अबोध जीवनहरुलाई कस्ले उग्र हुनका लागी प्रेरित गर्यो ? के उनीहरुलाई भ्रष्टचार गर्नेहरु प्रति आक्रोशले मात्रै त्याहाँसम्म पुर्याएको थियो ? या उनीहरुलाई त्याहाँसम्म पुर्याउने आतंकारीको मुकुट पहिरिएको अर्कै कुनै जथ्थाको चलखेल ?
आज हरेक नेपालीको मन रोइरहेको छ । कसरी आफ्नो देशकै छोराछोरीलाई आन्दोलनको नाममा यस्तो भयावह अवस्थामा पुर्याइयो ?
निष्कर्षः
युवाहरूले परिवर्तन चाहनु स्वाभाविक हो । युवाको उमेर नै ऊर्जा, सपना र आक्रोशको उमेर हो । तर, त्यो आक्रोश सिर्जनामा प्रयोग नहुने हो भने, विनाश मात्रै निम्त्याउँछ । जस्को ज्वलन्त उदाहरण आज नेपाल र सारा नेपालीको भविष्य दनदनी आगोको लप्कोमा दन्किएर खरानी भएको छ । यदि जेन्जी पुस्ता साँच्चिकै नयाँ पुस्ताको पहिचान बोकेको पुस्ता हो भने, हिंसा र आतंकलाई कहिल्यै अपनाउन सक्दैन ।
प्रिय युवाहरू, तपाईंहरू नै देशको भविष्य हो । तपाईंहरूको आक्रोश आगो होइन, विचारमा बदलियोस् । तपाईंहरूको जुनून लुटपाट होइन, सिर्जनामा प्रवाहित होस् । आन्दोलनले यदि उज्यालो नेपाल निर्माण गर्ने बाटो खोल्दैन भने, त्यसको कुनै अर्थ रहँदैन । मनन गर्नुपर्ने समय यही हो—के हामी आन्दोलनको नाममा आफ्नै भविष्य जलाइरहेका त होइनौं ?
तपाईहरुको आन्दोलनको एजेण्डा सर्वोपरी र सर्वप्रिय थियो । तर देशको पहिचान बोकेका ऐतिहासिक धरोहरहरुलाई धुजाधुजा पार्दै आगोको रापमा जलाएर खरानी बनाएपछि भने नतिजा फक्र्रन लागेको तपाईहरु र भावी सन्तति सबैको भविष्य भने गर्भमा नै तुहिएको भान भईरह्यो । हेक्का रहोस्, इतिहासले हिंसा होइन, विवेक र चेतनाको बाटो रोज्नेहरूलाई मात्र सम्झिरहनेछ। जेन्जी आन्दोलन पनि यदि विवेकतर्फ फर्कियो भने, यसले नयाँ पुस्तालाई दिशानिर्देश गर्नेछ । यदि हिंसातर्फ मोडिरह्यो भने, यो पुस्ताले आफ्नो भविष्य नै अन्धकारमा धकेल्नेछ ।






