रुपनी जि एम, बाँके । “वन रहे पो हामी रहौंला । वनै नरहे हामी कसरी बाँचौला ?” यो भनाई हो बाँकेको राप्ति सोनारी गाउँपालिका वार्ड नं. ९ ढकेरीका राम बहादुर पुन मगरको । वस्तुभाउदेखि मानिस सबैको जीवन वनजंगलले नै जोगाएको छ भन्नुहुन्छ राम बहादुर ।
“हरियो वन नेपालको धन” भन्ने भनाईलाई सानै देखि सुन्दै र मनमा गुन्दै आउनु भएका राम बहादुरलाई वन जोगाउने कुरा निकै नै महत्वको लाग्ने गर्दछ । उमेर अहिले ७५ वर्षको भएको छ । यो उमेरमा पनि वृक्षारोपण गर्न पाउँदा आफुलाई निकै नै खुशी लाग्ने गरेको उहाँको भनाई छ । “म आज पनि उही जोश र जाँगरका साग वृक्षारोपण गर्न रुचाउँछु ।” उहाँले भन्नुभयो,“आज वृक्षारोपण गर्न जानु पर्छ भन्ने खबर सुन्ना साथ मलाई बुढो भएँ, अब सक्दिन भन्ने लाग्दै लाग्दैन ।”
राष्ट्रिय वृक्षारोपण दिवस २०८२ को अवसरमा आफ्नै झिझिर सामुदायिक वनमा वृक्षारोपण गर्नु भएको छ राम बहादुरले । विगत ३० वर्षदेखि वृक्षारोपण गर्दै आएको बताउने उहाँले सामूदायिक वनलाई जोगाउन निकै नै आवश्यक छ भन्नुहुन्छ । “हामीले हाम्रो सामूदायिक वनबाट धेरै कुरा पाउँछौं ।” उहाँले वनबाट आफुहरुले पाउने महत्वका बारेमा प्रष्ट पार्दै भन्नुभयो,“यस्लाई जोगाए पो हामीले यसबाट काठदाउरा र घाँसपात सजिलै प्रयोग गर्न पाईन्छ । नजोगाए कसरी वस्तुभाउ र हाम्रो गुजारा चल्छ र ?”
राम बहादुर जस्तै वनलाई जोगाउन र हरियो बनाउन सोही गाउँपालिका वार्ड नं. ६ शम्शेरगञ्जकी अमर कुमारी मल्ल पनि झिझरी सामूदायिक वनमा पुग्नु भएको थियो । विगत २० वर्षदेखि वृक्षारोपण गर्दै आएको बताउने अमर कुमारीले वन र महिला बीचको सम्बन्ध पुरुषको तुलनामा अझैं गहिरो भएको बताउनुभयो ।
“वनसंग हामी महिलाको नाता पुरुषको तुलनामा धेरै हुन्छ । घाँसपात गर्न हामी महिला नै वनमा जान्छौं । स्याउला सोत्तर गर्न पनि हामी महिला नै वनमा जाने गर्छौं ।” वनसंगको सम्बन्ध महिलाहरुसंग बढी भएको बताउँदै उहाँले भन्नुभयो,“च्याउ टिप्न, वनको सागपात टिप्नप जे गर्दा पनि महिला नै वनमा जानु पर्ने भएको हुनाले घरसंग जस्तै हाम्रो नाता वनसंग पनि छ ।”
ढकेरीका ७० वर्षिय धनीलाल पुनले पनि वाल्यकादेखि आजसम्म वृक्षारोपण गर्दै आएको बतानुभयो । राष्ट्रिय वृक्षारोपण दिवसका दिन सामूहिक वृक्षारोपण कार्यक्रममा भेटिनु भएका धनीलालले पनि वनले नै जीवन दिएको बताउनुहुन्छ । “वन छैन त हाम्रो जीवन नै छैन । वनमा उम्रिएको रुखले नै त हो हामीलाई सास दिने । रुख नै नभए हामीले सास फेर्नै पाउँदैनौं । त्यसैले बाँच्नका लागी पनि वन जोगाउन आवश्यक छ ।” रुकुमदेखि बाँकेमा बसाई सरी आउनु भएका धनीलालले बाल्यकाल देखि नै वृक्षारोपण गर्दै आएको बताउनुभयो ।
डिभिजन वन कार्यालय बाँकेको आयोजनामा बाँकेको राप्ती सोनारी गाउँपालिकाको झिझिर सामुदायिक वनमा राष्ट्रिय वृक्षारोपण दिवस २०८२ को अवसरमा वृक्षारोपण वृहत वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टंक बहादुर गुरुगले साढे ६ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत शंकर प्रसाद गुप्ताका अुनसार यो आर्थिक वर्षमा बाँकेलाई हरियाली बनाउने उद्येश्यले ६५ हेक्टर जग्गामा तारबार सहित वृक्षारोपण गरिएको छ । यस्का साथै वन क्षेत्र बाहीर नीजि क्षेत्रमा पनि डिभिजन वन कार्यालयसंगै विभिन्न आठ वटा शव डिभिजन कार्यालयबाट ७ लाख विरुवा उत्पादन गरिएको डिभिजनल वन अधिकृत गुप्ताले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशका वनमन्त्री देवकरण प्रसाद कलवारको अध्यक्षतामा र संघिय वन मन्त्रालयका राज्यमन्त्री रुपा विकको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको उक्त वृक्षारोपण कार्यक्रममा झण्डै आठ सय जना स्थानीयसंगै वन उपभोक्ता, वन समितिका विभिन्न पदाधिकारीले सहभागीता जनाएका थिए । उक्त वृक्षारोपण कार्यक्रममा श्रीखण्ड, गुलमोर, सिसौं, खयर, अर्जुन लगाएतका विभिन्न प्रजातिका गरी ८ हजार विरुवा लगाईएको थियो । सोही अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वाटर शमशेरगञ्जमा कार्यरत सशत्र प्रहरीले पनि वृक्षारोपण गरेका थिए ।






