बाँके । नेपालगन्जका फोटोग्राफर अमित रावलले चौथो नेपालगन्ज फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड जित्नु भएको छ । अन्तरालले आयोजना गरेको फोटो फेष्टिवलमा राष्ट्रिय फोटो प्रतिस्पर्धाबाट उत्कृष्ट ३१ मा पर्न सफल फोटोहरुमध्ये रावलले बर्दियाको बढैयातालमा खिचेको रेडसांक प्रजातिको चराहरुको फोटोले इ–सेवा भोटिङमा सर्वाधिक ६ हजार ७ सय ७७ भोट प्राप्त गर्दै पिपुल्स च्वाइस अवार्ड जित्न सफल हुनु भएको हो ।
लुम्बिनी प्रदेशसभा सदस्य माया पुनद्धारा रावललाई ५० हजार १ सय ११ रुपैँया राशीको पुरस्कारसहित अवार्ड प्रदान गरिएको थियो । अर्वाड प्राप्त गरेपछि फोटोग्राफर रावलले पुरस्कारले फोटो खिच्न र संरक्षणको काममा आफुलाई अझै प्रोत्साहित गरेको बताउनु भएको थियो । पुरस्कारको केही राशीबाट परोपकारी काममा लगाउने बताउँदै उहाँले भन्नुभयो,‘कोहलपुरका मृगौला रोग पीडित फिरोज बक्सलाई यस पुरस्कारबाट १० हजार रुपैँया दिनेछु ।’
फेस्टिवलमा नेपालगन्जका तिलक गाहा मगरले खिचेको तस्बिरले खेलकुद विधामा, कृषि विधामा बबी साई, संस्कृति विधामा सञ्जय महर्जन, दैनिक जीवन विधामा विजय थापा, प्रकृति र संरक्षण विधामा रोमिन थारु, नेपाल स्माईल विधामा जीवन लामा, वाईल्ड लाइफ विधामा विनय रावल, टुरिजम विधामा मनोज पौडेल र न्युज विधामा बरम बुढाका तस्बिर विधागत उत्कृष्ट भएका छन् ।
विधागत उत्कृष्ट तस्बिर विजेतालाई जनही पाँच हजार रुपैँयाको पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा आर्यन धिमालको जाजरकोट भूकम्पमा आफ्नो भत्किएको घर अघि रुँदै गरेकी महिलाको तस्बिर फोटो अफ द इयर भएको छ । उक्त तस्वीरले ५१ हजार १ सय ११ रुपैँया पुरस्कार प्राप्त गरेको छ ।
यसैगरी अन्तरालको आयोजनामा सन्चालन भएको दुई दिने फोटोग्राफी तालिम पनि समापन गरिएको छ । तालिममा सहभागि ३९ जनालाई समापन कार्यक्रममा प्रमाणपत्र पनि वितरण गरिएको छ ।
प्रतिष्पर्धामा देशभरबाट १ सय ११ फोटोहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगन्ज, संघीय राजधानी काठमाडौं र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिने आयोजकले जनाएको छ । यी फोटोहरु अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिने छ ।






