बाँके । जैविक चौतारीको माध्यमबाट संरक्षणको सवालमा चुनौति तथा अवसर सम्बन्धि एक दिने छलफल तथा सम्बाद कार्यक्रम सम्पन्न भएको छ । बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नं. २ को कचनापुर स्थित मदुईमा रहेको अशोक सामूदायिक वनको भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त सामूदायिक वनका अध्यक्ष भगानु थारुको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका सहभागीहरुले वन, वन्यजन्तु र मानव बीचको सम्बन्धलाई जोगाई राख्न आवश्यक भएको बताएका थिए । साथै वन्यजन्तु र मानव बीचको सम्बन्धलाई जोगाउन चुनौति भएको भन्दै सम्बन्धित पक्षको उक्त विषयमा ध्यानाकर्षण समेत गराएका थिए ।
सोही सामूदायिक वनका उपभोक्ता राम प्रसाद गौतमले वन संरक्षण गर्न वन्यजन्तुका कारण चुनौती बन्दै गएको बताउँदै वन्यजन्तु र मानव बीचको द्धन्द्धलाई न्यूनिकरण गर्न माग गर्नु भएको छ । यस्का साथै उहाँले वन जोगाउन आफुहरुले तारजालीको समेत व्यवस्था गरेको पनि बताउनुभयो । राम प्रसादले भन्नुभयो,“निकुञ्ज र सामूदायिक वनको दुरी खासै टाढा नभएको हुनाले वन्यजन्तुहरु हाम्रा गाउँघरमा आएर पशुचौपायलाई क्षति पुर्यारहेका छन् । मानव वस्तिमा वन्यजन्तुलाई आउनबाट रोक्न सम्बन्धित निकायको ध्यान जान निकै नै आवश्यक छ ।”
६३ वर्षिय गौतमले वनलाई जोगाउन र वनबाट वन्यजन्तुहरु समूदायसम्म आउन नसकून भन्नका लागी आफुहरुले तारजाली समेत लगाएको जानकारी दिनुभयो । यस्का साथै उहाँले उक्त सामूदायिक वनबाट मानिस र पशुचौपायका लागी घाँसदाउरा समेत सदुपयोग गर्न पाएको बताउनुभएको थियो ।
कार्यक्रममा सोही सामूदायिक वनकी उपभोक्ता पुर्णीमा ओलीले महिला उपभोक्ताहरुको सक्रिए सहभागीता रहेको जानकारी गराउँदै वन व्यवस्थापन समितिको कार्यसमितिमा पनि महिला सहभागीता समानुपातिक रुपमा रहेको बताउनुभयो । उहाँले पुरुष र महिला दुवैको भूमिका अशोक सामूदायिक वनलाई जोगाउन महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“हाम्रो सामूदायिक वनलाई जोगाउन हामी पुरुष र महिला उपभोक्ताहरु दुवैको भूमिका उत्तिकै छ । यहाँ न पुरुषको भूमिका धेरै छ न त महिलाको नै । हामीले सामानान्तर रुपमा नै यो वन जोगाउन काम गरीरहेका छौं ।”
राम प्रसाद र पुर्णीमाले जस्तै सोही सामूदायिक वनका उपभोक्ता रञ्जु थारुले वन जोगाउन आफुहरुले एकजुट भएर काम गरेको बताउनुभयो । उहाँले वनलाई घना र हरियाली बनाउन खाली मैदान भएका ठाउँहरुमा वृक्षारोपण गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“हाम्रो वनमा कहींकतै खाली ठाउँ छैन । हामीले हाम्रो वनलाई बाक्लो र हरियाली बनाउनका लागी मैदान भएका ठाउँहरुमा वृक्षारोपाण गर्ने गर्दछौं ।” वनलाई आगलागीबाट जोगाउन सबैजना एकजुट भएर फायर लाईन सफा गर्नुका साथै झाडी फडानी गर्ने गरेको उहाँले बताउनुभयो ।
कार्यक्रमा प्रमुख अथितिका रुपमा रहनु भएका शम्शेर सब डिभिजन वन कार्यालय बाँकेका प्रमुख मनोज शर्माले सहभागीहरुको भनाईलाई सम्बोधन गर्दै उक्त सामूदायिक वन संरक्षणका लागी डिभिजन वन कार्यालयले कुनै पनि कसरी बाँकी नराख्ने बताउनुभयो । उहाँले भन्नुभयो,“हामीले सरकारको नीति अनुरुप नै काम गर्ने हो । सोही नीति र नियमका आधारमा हाम्रो मातहतमा रहेका यो मात्र नभई सबै सामूदायिक, नीजी र राष्ट्रि वनलाई संरक्षण दायित्व हाम्रो भएको हुनाले हामीले वन जोगाउन आवश्यक सबै कामहरु गरेका छौं र आगामी दिनमा पनि गर्ने नै छौं ।”
उहाँले वन संरक्षण गर्ने मात्र नभई वनका वन्यजन्तुहरुबाट पनि समूदायलाई जोगाउन डिभिजन वन कार्यालयले सरकारी नीति अनुरुप नै काम गरीरहेको बताउनुभयो । साथै उहाँले कुनैपनि वन्यजन्तुका कारण पशुचौपायलाई क्षति पुगेको अवस्थामा घटना स्थलको प्रमाण राख्न सल्लाह दिंदै क्षतिपुर्तिका लागी कागजातहरु बोकेर डिभिजन वन कार्यालयसम्म पुग्न समय लाग्ने भएको हुनाले सब डिभिजनको कार्यालयमा पुर्याउन पनि आग्रह गर्नुभयो ।
“वन्यजन्तुका कारण यदि कुनैपनि घरको पशुचौपायालाई हानी नोक्सानी भएको छ भने तपाईहरुले तुरुन्तै त्यसैको फोटो वा भिडियो सुरक्षित राख्नुहोला । तपाईँहरुसंग घटना स्थलको मुचुल्का भयो भने मात्रै क्षतिपुर्तिका लागी दाबी गर्न सकिने ठाउँ रहन्छ ।” उहाँले भन्नुभयो,“कागजात पुर्याउन यहाँबाट डिभिजनको वन कार्यालयसम्म जान समय लाग्ने भएको हुँदा नजिकैको सब डिभिनको कार्यालयमा पुर्याउन सक्नुहुन्छ । त्याहाँबाट तपाईँको कागजात हामी नै नेपालगञ्जको मुख्य कार्यालय र अन्य सम्बन्धित निकायहरुमा पुर्याएर सहयोग गर्नेछौं ।”
कार्यक्रमका सहभागीहरुलाई वन जोगाउन चुनौति भएता पनि वनले समूदायका मानिसहरुलाई धेरै कुरामा अवसर दिने भएको हुनाले वन संरक्षण गर्न उहाँले सबै उपभोक्तालाई आग्रह समेत गर्नुभयो । साथै उहाँले जैविक विविधतालाई कसरी संरक्षण र व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा सब डिभिजन वन कार्यालयले धेरै कार्यक्रमहरुको योजना बनाएको जानकारी दिनुभयो । यस्का साथै उहाँले मानव र वन्यजन्तु बीचको द्धन्द्धमा राहतका लागी ९० प्रतिशतले काम भईरहेको पनि सहभागीहरुलाई जानकारी गराउनुभयो ।
कार्यक्रममा सभापतिका रुपमा रहनु भएका सोही सामूदायिक वनका अध्यक्ष भगानु थारुले वन संक्षरणका लागी वन व्यवस्थापन समितिले वन हेरालुको समेत व्यवस्था गरेको बताउनुभयो । उहाँले वन्यजन्तु र पशुपंक्षिका लागी वन भित्रको निश्चित क्षेत्रमा पानी पोखरीको निमार्ण गर्नुका साथै मेषजालीको पनि व्यवस्था गरेको पनि जानकारी गराउनुभयो ।
३ सय ९९ क्षेत्रफलमा फैलिएको उक्त सामूदायिक वनको व्यवस्थापन, संरक्षण र सम्बद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा वन व्यवस्थापन समितिले प्रत्येक महिनाको ५ गते नियमित बैठक बस्ने गरेको अध्यक्ष थारुले जानकारी दिनुभयो । यसका साथै उहाँले वन्यजन्तुका कारण खेतीबाली नस्ट हुने हुँदा किसानले त्यसका उपभोग गर्न नपाउँदा वैकल्पिक खेतीका लागी वन कार्यालयलाई यस विषयमा गम्भिर भई दिन आग्रह समेत गर्नु भएकोथियो ।
कार्यक्रममा उक्त सामूदायिक वनका ५० जना वन उपभोक्तासंगै उपाध्यक्ष कल्पना ओली, व्यवस्थापन समितिका सल्लाहाकार डम्मर डाँगी, सोही वडाका सचिव नारायण विष्ट र व्यवस्थापन समितिका सदस्य हर्षवद्र्धन चौधरीको सहभागीता रहेको थियो ।






