बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरेको हो ।
शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् ।
यसैगरी लामिछानेले आफूमाथि ठुलो अन्याय भएको गुनासो गरेका छन् । पक्राउ पर्नुअघि फेसबुकमार्फत उनले यस्तो गुनासो गरेका हुन् । ‘न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु’, उनले फेसबुकमा भनेका छन्, ‘ ममाथि ठुलो अन्याय भएको छ ।’
उनले आफैँले गिरफ्तारी दिन लागेको समेत बताएका थिए । तर, प्रहरी उनलाई नियन्त्रणमा लिन शुक्रबार राति नै निवासमै पुगेको थियो । सोहीअनुसार उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसअघि शुक्रबार नै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराधसम्बन्धी मुद्दामा धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश उल्ट्याएको हो ।
लामिछानेले एक करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्नुपर्ने भन्दै फागुन २६ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए । यसैगरी सरकारी वकिलको कार्यालयले फागुन १ मै लामिछानेलाई एक करोड धरौटीसहित तारेखमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिएको थियो ।






