काठमाण्डौ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चैत्र १५ काठमाण्डौमा भएको आन्दोलनलाई हिंसात्मक बनाएको आरोपमा उनको सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी थालेको छ । दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनपछि छानबिन गरेर यो कदम चाल्ने तयारी भएको हो । ‘पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा आन्दोलन भएको छ। छानबिनपछि विदेश भाग्ने आशंकाले राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको छ,’ गृहमन्त्रालयका एक उच्च अधिकारीले भने ।
दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनामा संलग्नलाई कारबाही गर्न, ज्ञानेन्द्रलाई देशबाहिर जान रोक लगाउन र उनले पाउँदै आएको सुविधा खोस्न मन्त्रीहरूले प्रस्ताव गरेका छन् । सरकारले यो निर्णय लिने तयारी गरेको छ। शुक्रबार रातिको मन्त्रिपरिषद् बैठकमा हिंसात्मक र आपराधिक गतिविधिबारे गम्भीर छलफल भएको थियो ।
शनिबार बिहानदेखि प्रहरीले प्रमाण संकलन थालेको छ । व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव र संगठित अपराधको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा सरकारको आपत्ति नभए पनि तोडफोड र दुई जनाको ज्यान जाने हिंसात्मक गतिविधिको अनुसन्धानमा कठोर हुन निर्देशन दिएका थिए ।
ज्ञानेन्द्रलाई तेस्रो पटक श्रीपेच लगाउने अभियानमा लागेको समूह अराजक बनेको छ। सरकारले तोकेको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शन उग्र हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ । अराजकता नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीसहित दर्जनौँ घाइते भएका छन् । अर्बौँको निजी सम्पत्ति नष्ट भएको छ । भिडले लगाएको आगोमा जलेर सञ्चारकर्मी सुरेश रजकको मृत्यु भएको छ। झडपमा सविन महर्जन गोली लागेर मरेका छन् ।
‘राजा ल्याउने अभियान’ का कमान्डर भनिएका दुर्गा प्रसाईंले सुरक्षाकर्मीमाथि गाडी चलाएर आक्रमण गरेका थिए। सुरक्षाकर्मीलाई मिच्ने गरी उनी उत्रिएपछि भिड उत्तेजित भएर ढुंगामुढा गर्न थालेको थियो । भिड अनियन्त्रित भएपछि ‘सभाका नायक’ नवराज सुवेदी भागेका थिए भने प्रसाईं गाडी लिएर हिँडेका थिए । भिड उक्साउनेहरू हिँडेपछि अराजक व्यक्तिले निजी घरमा आगजनी गरे । प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रसोधन कम्पनीका आठ गाडीमा आगो लगाए ।
आक्रामक भिडले ट्राफिक बिट भत्काएको थियो । त्यसैगरी पेरिसडाँडास्थित माओबादी केन्द्रको मुख्यालयमा मोटरसाइकल तोडफोड समेत गरेका थिए भने उनीहरूले नेकपा एकीकृत समाजबादीको मुख्यालयमा आगजनी पनि गरेका थिए । कोटेश्वरको भाटभटेनी सुपरमार्केटभित्र पसेर लुटपाट र तोडफोड पनि गरेका आन्दोलनकारीहरुले गरेका थिए । यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।






