बाँके । नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । बाँकेको राँझा स्थित श्री नं. चार बाहिनी अड्डा इमामनगर ब्यारेकको आयोजनामा शुक्रबार नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन २०८१ सम्पन्न भएको हो । भूपू सैनिक सम्मेलनलाई नेपाली सेनाका उपरथी दीपककुमार बानियाले उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा अशक्त सैनिक, भूपू सैनिक तथा उनीहरुका परिवारका अशक्त सदस्यहरुलाई ह्विल चियर, बैशाखी, व्लाण्ड स्टिक, एल्वो क्रचेज लगायतका सहायक सामग्री प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उपरथी बानियाले विभिन्न १३ जना अशक्त भएका सैनिक तथा सैनिकका परिवारलाई सहायक सामग्री प्रदान गर्नुभएको थियो । यसैक्रममा उपरथी बानियाले सम्मेलनमा सहभागी भएका भूपू सैनिक तथा एकल महिलाहरुसँग सामूहिक छलफल तथा अन्तक्र्रियासमेत गर्नुभएको थियो । उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतमा पनि शुक्रबार नै भूपू सैनिक सम्मेलन गरिएको थियो ।
उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतमा भएको सम्मेलनलाई नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उद्घाटन गर्नुभएको सेनाले जनाएको छ । प्रधान सेनापति सिग्देलले सुर्खेतमा गरेको सम्बोधनलाई प्रत्यक्ष अडिओ मार्फत् नेपालगन्ज सम्मेलनमा सुनाइएको थियो । सम्मेलनले पूर्वसैनिकबीच भेटघाट तथा पुनर्मिलन गराउने अवसर हुने, सेनाको सङ्गठन, सैनिक नेतृत्व र हिताधिकारीबीच आत्मीयता, भरोसा र विश्वास वृद्धि हुने तथा सम्पूर्ण हिताधिकारीको सामाजिक प्रतिष्ठा र आत्मसम्मान बढ्ने बताइएको छ ।
बहालवाला तथा भूतपूर्वबीच सम्बन्ध प्रगाढ तुल्याउन, देश र संस्थाप्रतिको आस्था र भरोसालाई सम्मान गर्न तथा भूपूले राष्ट्रसेवामा गरेको योगदानको कदर गर्ने अवसरका रुपमा सम्मलेन हुँदै आएको सेनाले जनाएको छ । कार्यक्रममा श्री नम्बर चार बाहिनी अड्डा इमामनगर ब्यारेक राँझाका बाहिनीपति सहायक रथी रोशन शमसेर राणा, प्रमुख सेनानी दिपक गुरुङ, बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठ, रणबम गणका गणपति प्रमुख सेनानी प्रवीन थापा लगायतका उच्च सैनिक अधिकृतहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली सेनाको बाहिनी तथा विभिन्न गणका सैनिकहरुले विभिन्न भाषाभाषी तथा जातजातिका संस्कृति झल्कने गीतमा सांस्कृतिक नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । हरेक तीन वर्षमा एकपटक भूपू सैनिक सम्मेलन आयोजना हुँदै आएको सेनाले जनाएको छ ।












