रुपनी जि एम, बाँके । “अहिले म सुर्खेतबाट आउँदै छु । एक्कासि अगाडी गाडीहरु रोकिएको देखें । दुर्घना भएछ भन्ने ठानेको थिएँ । तर ट्राफिक लाईट बलेर पो अगाडी गाडीहरु रोकिएका रहेछन् ।” सुर्खेत बांगेसिमलका प्रविण कुमार गिरीले ट्राफिक जाममा रोकिंदै नेपालगञ्जमा लागू भएको ट्राफिक लाईटको अनुभव सुनाउनुभयो ।
उहाँ नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत आफन्तलाई भेट्नका लागि सोमबार सुर्खेतबाट नेपालगञ्ज आउँदै गर्दा धम्बोझिमा लागू गरिएको ट्राफिक लाईटको नियमलाई पालना गर्दै जाममा रोकिनु भएको थियो । मोटरसाईकल चालक गिरीले ई रिक्साका कारण नेपालगञ्जको सडक अस्तव्यस्त हुने हुँदा ट्राफिक लाईटको नियम आफुलाई प्रभावकारी लागेको बताउनुभयो ।
“म पहिला आईरहंदा यहाँ ई रिक्साका कारण धेरै पटक दुर्घटना हुनबाट जोगिएको छु ।” हरियो बत्तिको पर्खाईमा उभिंदै उहाँले भन्नुभयो,“ट्राफिक लाईटको नियम लागू भएपछि अब त रिक्साहरु पनि व्यवस्थित रुपमा चल्ने भएछन् ।” नेपालगञ्जको मुटु मानिने धम्बोझि चोकमा नै ट्राफिक लाईटको नियम लागू भएसंगै पुर्व पश्चिम र उत्तर दक्षिण तर्फबाट तिब्र गतिमा चल्ने सवारी साधनहरु अब ट्राफिक नियमानुसार सुस्त गतिमा चल्न लागेका छन् ।
गत वर्षको चैत्र महिनामा उक्त ट्राफिक लाईटको परीक्षणकाल शूरु गरिएपनि गत पुस महिनाको २८ गतेदेखि नियमित रुपमा लागू भएको ट्राफिक लाईटले सडकलाई मात्र नभई सवारी साधन चालक र यात्रुलाई समेत व्यवस्थि रुपले सडकमा हिंड्न सहयोग गरेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का स्थानीय बलवीर खड्काले बताउनुभयो । “ट्राफिक लाईटको नियम लागू भएदेखि या शहर बल्ल व्यवस्थित शहर जस्तो भएको छ ।” उहाँले भन्नुभयो, “पहिला त जस्लाई जताबाट मन लाग्यो त्यतैबाट बाटो काटेर हिंड्ने बानी थियो । अब भने बल्ल सडकमा नियम अुनसार हिंड्नु पर्ने रहेछ भन्ने कुराको चेतना जागेको छ ।”
सुर्खेतका प्रविण गिरी र बाँकेका बलवीर खड्का जस्तै नेपालगञ्जमा ट्राफिक नियम लागू भएपछि बच्चालाई स्कूल पुर्याउन समयभन्दा आधा घण्टा अगाडी नै निस्कने गरेको नेपलगञ्ज उपमहानगरपालिका वडा नं. १० ट्राफिक चोक निवासी सरिता थापाले बताउनुभयो । “पहिला दश पन्ध्र मिनेट अघि छोरीलाई स्कूल पुर्याउन निस्कन्थें भने अहिले जाममा परिन्छ भनेर आधा घण्टा अगाडी नै निस्कने गरेको छु ।” उहाँले भन्नुभयो ।
बाँकेमा पहिलो पटक ट्राफिक लाईटको नियम लागू भएको छ । गत पुस महिनाको २८ गतेदेखि ट्राफिक लाईटको नियम लागू भएसंगै यहाँका सवारी साधन चालक र यात्रुहरुले उक्त नियमको पालना गरेको अस्थाई ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका ट्राफिक प्रहरी वरिष्ट नायव निरीक्षक प्रविण आर्चायले बताउनुभयो ।
“यहाँ ट्राफिक लाईटको नियम लागू भएको भर्खर भर्खर भएको हुनाले हामीले जरिवाना भन्दा पनि ट्राफिक लाईट र लेनको प्रयोग कसरी गर्ने र कस्तो अवस्थामा गर्ने भनेर सिकाई रहेका छौं ।” उहाँले भन्नुभयो, “विशेष गरी महिला र ग्रामिण भेग तिरबाट आउने सवारी साधन चालकसंगै यात्रुहरुलाई ट्राफिक लाईटको नियम बुझाउन अलि गाह्रो भई रहेको छ ।” उहाँका अनुसार तीन चार पटकसम्म सम्झाई बुझाई गर्दा पनि रातो बत्तिको नियम पालना नगरेका आठ जनालाई जरिवाना स्वरुप चिट काटेर कारवाही गरिएको छ ।
ई सेवा, खल्ती, ई चलान र राष्ट्रिय वाणिज्य बैंकको माध्यमबाट हालसम्म आठ जनाबाट चार हजारको सम्मको राजस्व संकलन भएको अस्थाई ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख आचार्यले जानकारी दिनुभयो । नेपालगञ्जमा ट्राफिक लाईटको नियम लागू भएसंगै जरिवाना भन्दापनि यात्रुलाई सडक लेनको प्रयोग कसरी र कस्तो अवस्थामा गर्ने भनेर जनचेतना दिने विषयमा आफुहरु केन्द्रित रहेको आचार्यको भनाई थियो ।
“रातो बत्ति बल्दा जहिले पनि देब्रे लाईन भएर जाने सवारी साधन चालक र यात्रुहरु रोकिनु पर्दैन । भनेर हामीले अलमलमा परेकाहरुलाई सम्झाएर बाटो काट्न सिकाउँदै छौं ।” उहाँले भन्नुभयो,“यहाँका सवारी साधन चालक र यात्रुलाई जरिवाना भन्दा जनचेतनाको आवश्यकता भएको हुनाले हामीले सडक नियमका विषयमा डियूटिकै समयमा जानकारी दिने प्रयास गरीरहेका छौं ।”
अस्थाई ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख आचार्यका अनुसार ट्राफिक लाईटको नियम लागू भएसंगै पहिलाको तुलनामा अहिले धम्बोझि देखि विपी चोकमा हुने दुर्घटनामा कमी आएको छ । पहिला हप्तामा आठ दश वटा सामान्य दुर्घटना हुन्थ्यो भने अहिले सोही ठाउँमा ट्राफिक लाईटको नियम लागू भएपछि दुर्घटना नभएको ट्राफिक प्रहरी वरिष्ट नायव निरीक्षक आर्चायले बताउनुभयो । उहाँका अनुसार ट्राफिक लाईटको नियम सूचारु भएसंगै हालसम्म रातो बत्ति कारवाहीमा एक सय ६५ परेका छन् भने गलत तरिकाले बाटो काट्ने तीन सय २३ जनालाई कारर्वाही गरिएको छ ।






