बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई बाँकेका जनप्रतिनिधिहरुले मायाको चिनो प्रदान गरेर बिदाई गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाद्धारा आयोजित बिदाई समारोहमा बाँकेको ९ महिने कार्यकाल पुरा गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएर बाँकेबाट जान लाग्नु भएका प्रजिअ रिजाललाई बाँकेका जनप्रतिनिधिहरुले मायाको चिनो प्रदान गरेर बिदाई गरेका हुन् ।
उक्त बिदाई समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले प्रजिअ रिजाल नरम, मिजासिला, क्षमतावान्, इमान्दार र कर्तव्यपरायण रहेको भन्दै प्रशंसा गर्नुभएको थियो । मेयर बिष्टले भन्नुभयो,“बाँकेको विकासका लागी उहाँ एक असल प्रशासक हुनुहुन्थ्यो । एउटा असल अभिभावकका रुपमा उहाँले देखाउनु भएको उहाँको कार्यशैलीलाई हामीले सधैं सम्झिरहने छौं ।” मेयर बिष्टले प्रजिअको कार्यशैलीको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
आज नै बाँकेको नरैनापुरमा आयोजित बिदाई एवं सम्मान कार्यक्रममा गाउँपालिका प्रमुख सैयद इश्तियाक अहमद शाहले प्रजिअ रिजालमा असल प्रशासकमा हुनु पर्ने सबै गुण भएको बताउनुभयो । “एउटा असल प्रशासक हुनका लागि कमाण्ड, कन्ट्रोल र कम्युनिकेशन हुनु आवश्यक हुन्छ । उहाँमा यी सबै कुरा पोख्त छन् ।”
गाउँपालिका प्रमुख शाहले भन्नुभयो,“नरैनापुरको विकास र यहाँका जनताकालागी उहाँले निभाउनु भएको भूमिका सधैं स्मरण योग्य रहनेछ ।” उहाँले भन्नुभयो,“उहाँ जस्तै प्रशासक सबै जिल्लामा हुने हो भने मुलुकमा अमन, चयन, शान्ती सुव्यवस्था कायम हुने र सुशासनको क्षेत्रमा समेत निकै प्रगति हुने थियो ।” धार्मिक द्वन्द्वको चपेटामा परेको बाँकेलाई द्वन्द्व मुक्त बनाउन सफल हुनु भएकोमा प्रजिअ रिजाललाई गाउँपालिका प्रमुख शाहले बधाई दिनुभयो ।
मानवताका पुजारी जयकेश सिंहले प्रजिअ रिजालको कामबाट आफू अत्यन्त प्रभावित बनेको बताउनुभयो । जिल्लामा शान्ति, सुरक्षा कायम गर्ने विषय होस् या जिल्लाबासीका लागी सेवा सुविधामा सहज पहूँचका विषय लगाएत अन्य योजनाका कुराहरु नै किन नहोस् सबै कुरामा प्रजिअ रिजाल सफल प्रशासक रहेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो,“उहाँ जस्तो मिलनसार र व्यवहारिक सिडिओ त मैले अहिलेसम्म संगत नै गरेको थिएन ।”
प्रजिअ रिजालले भने नेपाल सरकारको प्रतिनिधि भएर आफ्नो पदीय जिम्मेवारी सकेजति आफुले पूरा गर्ने प्रयास गरेको बताउनुभयो । “मैले एउटा राष्ट्रसेवकको रुपमा नागरिकको सेवालाई शिरमा राखेर विधि र पद्धति भित्र बसेर सकेजति जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको हुँ ।” प्रजिअ रिजालले भन्नुभयो,“मलाई यसरी विभिन्न सरकारी एवं गैर सरकारी क्षेत्रबाट भएको यस्तो सम्मानपूर्ण बिदाइले आगामी दिनमा थप कर्तव्य निर्वाह पालना गर्न अभिप्रेरित गरेको छ ।”
प्रजिअ रिजाललाई नेपाल वार एसोसिएसन लगायत विभिन्न संघ संस्थाले मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका थिए । प्रजिअ रिजाल बाँकेको ९ महिनाको कार्यकाल पुरा गरी सोमबार काठमाडौँ फिर्ता हुन लाग्नु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।






