बाँके । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प कोहलपुरको उद्घाटन गर्नुभएको छ । उहाँले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभएको छ ।
सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षाको साथै समाजका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आमनागरिकमा सेवा पुर्याउँदै आएको चर्चा गर्नु भएको थियो । आज उद्घाटन भएको प्रहरी पेट्रोल पम्प नेपाल प्रहरीको मात्र नभई सबैको साझा सम्पत्ति भएको बताउँदै उहाँले यसले नेपाल प्रहरी तथा आमनागरिकका सवारी साधन समेतलाई सरल र सहज रूपमा इन्धनको आवश्यक्ता पूर्ती गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी शान्ति सुरक्षाको सन्दर्भमा आमजनता केन्द्रीत सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको बताउँदै आम नागरिकमा निष्पक्ष सेवा प्रवाह र प्रदेशको समग्र शान्ति सुव्यवस्था कायम राख्न समुदायसँग सहकार्य गरी योजनाबद्ध ढंगबाट प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले शुभकामना व्यक्त गर्नुभएको थियो । प्रहरी नायव उपरीक्षक रोशन सारू मगरले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिबेदनमा नेपाल प्रहरी कल्याण कोषको कुल ६ करोड ६४ लाख २७ हजार ७ सय ३६ रूपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको उल्लेख गरिएको छ ।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीवीहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।






