बाँके । बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले समस्याग्रस्त पाटेबाघलाई उद्धार गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका ८ बालापुरबाट उक्त समस्याग्रस्त पाटे बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीको सहायतामा बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले उद्धार गरेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृति वीरेन्द्र कंडेलले जानकारी दिनुभयो ।
कंडेका अनुसार उद्धार गरिएको उक्त समस्याग्रस्त पाटेबाघ अन्दाजी दुई वर्षको अनुमान गरिएको छ । उमेर सानो भएको हुनाले शिकार गर्न नसक्ने हुँदा सजिलै आहारका लागी बस्तिमा पसेको हुन सक्ने उहाँले बताउनुभयो । “यस्को उमेर अन्दाजी दुई वर्षको भएको हुनाले यो बच्चा बाघ नै हो ।” प्रमुख संरक्षण अधिकृत कंडेलले भन्नुभयो,“आमाबाट बिछोड भएको हामीले अनुमान गरेका छौं । आमाबाट बिछोड भएपछि आहारका लागी आफैले शिकार गर्न नसक्ने हुँदा सजिलै आहारका लागी बस्तिमा पसेको हुन सक्छ ।”
मानव बस्तिमा पसेको उक्त समस्याग्रस्त पाटे बाघले मानवीय क्षति नगरे पनि स्थानीयका गोठमा पसेर तीन ओटा बाख्रा, एउटा भेंडा र एउटा पाडो मारेको कंडेलले बताउनुभयो । बाघ गाउँमा बाघ पसेको खबर स्थानीयले दिने बित्तिकै बर्दियाको प्राविधिक टोलीसंगै बाँके राष्ट्रिय निकुञ्जको बुच्चापुर हात्तिसारमा रहेको दुईओटा हात्ति सहीतको सहयोगनमा बाघलाई नियन्त्रणमा लिईएको थियो ।
नियन्त्रणमा लिइएको बाघलाई उद्धार गरेर निकुञ्जको खैरीखोलास्थित खैरीपोष्टको खोरमा राखिएको निकुञ्ज प्रमुख संरक्षण अधिकृत कंडेलले जानकारी दिनुभयो । “हामीले समयमा नै हात्तीसहितको प्राविधिक टोली परिचालन गरेर बाघलाई उद्धार गरेर निकुञ्जकै खैरीपोष्टमा उक्त समस्याग्रस्त पाटेबाघलाई राखेका छौँ ।” उहाँले भन्नुभयो,“बाघको स्वास्थ्य अवस्था बुझ्नको लागी केही दिन खैरीको खोरमा नै राखेर रेखदेख गर्नेछौं ।”






