बाँके । बाँकेको राझाँ स्थित विमान स्थलको हवाई धावनमार्गमा हवाई दुद्र्धटना व्यवस्थापन नमुना अभ्यास कार्य सम्पन्न गरिएको छ । नेपाल नागरिक उड्डयन प्रधिकरण कार्यालय नेपालगञ्जको आयोजनामा आज राझाँ स्थित विमान स्थलको हवाई धावनमार्गमा हवाई दुद्र्धटना व्यवस्थापन नमुना अभ्यास कार्य सम्पन्न गरिएको हो ।
उक्त नमुना अभ्यास कार्यमा शुक्रबार बिहान ११ बजेर ५ मिनेटमा काल्पनिक ईको एयरको एम ए ७२ हेलन विमानस्थलबाट बारकोट बिमानस्थलको लागी उडान भएको फ्लाईट नम्बर ईको ४०० वायुयान हेलन विमानस्थलको दक्षिण पुर्व क्षेत्रमा स्थानिय अनुसार ११ बजेर १७ मिनेट जाँदा दुर्घटना भएको देखाईएको थियो । हवाई दुर्घटना भएर आगलागी भएपछि आगो निभाउन नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र विमानस्थलमा रहेको दमकल सहीत ३ ओटा दमकल प्रयोग गरिएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले नेपलागञ्ज विमानस्थलमा संकट व्यवस्थापनको अवस्था पत्ता लगाउने उद्येश्यले आयोजना गरिएको नमुना अभ्यास कार्यमा केही प्राविधिक कुराहरुमा सुधार गर्नु पर्ने आवश्यक रहेको बताउनुभयो । यसका साथै उहाँले सरोकारवाला निकायहरुसंग प्रभावकारी समन्वय गर्नु पर्नेमा जोड दिनुभयो । नमुना अभ्यास कार्य सम्पन्न भएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा नमुना अभ्यासका विषयमा समिक्षा गरिएको थियो ।
उक्त नमुना अभ्यास गरिएको हवाई दुर्घटनामा वायुयानका चालक दलमा रहेका चार जना, विमानमा रहेका दुईजना बालक सहित ७२ जना यात्रु गरी ७६ जना घाईते भएका थिए । दुर्घटनाग्रस्त विमानमा घाईते भएका सबैको उद्धार र प्राथमिक उपचारका लागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहीरी, विमानस्थल स्थित उद्धार तथा अग्नि निवारक, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, नेपालगञ्ज भेरी अस्पताल, नेपाल रेडक्र, एयरलाईन्सका कर्मचारी, तथा अन्य उद्धारकर्ताहरु संलग्न भई उद्धार गरिएको थियो । 






