बाँके । बाँकेमा मृतावस्थामा वृद्ध पाटे बाघ भेटिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका १ को कोर क्षेत्रमा मृत अवस्थामा पाटे बाघ भेटिएको बाँके राष्ट्रि निकुञ्जले जनाएको छ । शुक्रबार बिहान गएको गस्ति टोलीले उक्त कोर क्षेत्रमा बाघलाई मृत अवस्थामा फेला पारेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत अवस्थामा भेटिएको पाटे बाघको अवस्था हेर्दा उक्त पाटे बाघ दुई दिन अघि नै मरेको अनुमान गरिएको छ ।
“बाघको पछाडिको भागलाई वन्यजन्तुले खाएको अवस्थामा हाम्रो गस्ति टोलीले फेला पार्नु भएको हो ।” सूचना अधिकारी पँगेनीले भन्नुभयो,“त्यस्तो अवस्थामा पाटे बाघ भेटिएको हुनाले यो बाघ आज अथवा भर्खरै मरेको नभई दुई तीन अघि नै मरेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।” उहाँका अनुसार मृत अवस्थामा भेटिएको उक्त पाटे बाघको उमेर १२ देखि १३ वर्षको हुन सक्ने अनुमान गरिएको छ । बाघको आयु १६ देखि १८ वर्षको हुन्छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख विरेन्द्र कंडेलले बाघको मृत्यु प्राकृतिक रुपमा भएको बताउनुभयो । “प्राविधिकहरुको टोलीले निकालेको रिर्पोट अनुसार वयस्क र मृत भएको बाघ बीचको द्धन्द्धमा वयस्क बाघले उक्त बाघलाई मारेको हुन सक्ने आशंका गरिएको छ ।” उहाँले भन्नुभयो,“प्राविधिकहरुको टोलीले र फरेन्सिक रिर्पोटले निकाल्ने नतिजा फरक भएको हुनाले अन्य कुनै कारणले मृत्यु भएको हो होईन भन्ने कुरा दुई दिन पछि निकालिने रिर्पोटले नै भन्ने छ ।”
उहाँका अनुसार उक्त मृत अवस्थामा फेला परेको पाटे बाघको फरेन्सिक जाँचका लागी बर्दिया राष्ट्रिय निकुञ्जबाट डाक्टरहरुको टोली बाँके राष्ट्रिय निकुञ्जको ओभरी कार्यालयमा जाँदै छ । निकुञ्ज प्रमुख कंडेलले बाँके राष्ट्रिय निकुञ्जको गस्ति टोलीले प्रत्येक दिन निकुञ्जको कोर क्षेत्र र मध्यवर्ती क्षेत्रमा तीन समूहमा बिहान, दिउँसो र साँझ गरी तीन पटक गस्ति गर्ने गरेको बताउनुभयो ।






