बाँके । बाँकेमा वन्यजन्तुको आक्रमणबाट बाँकेमा एकजना महिलाको ज्यान गएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ८ ओभरीका ६७ वर्षिया चेती बुढाथोकीको ज्यान गएको शम्शेरगञ्ज शव डिभिजन कार्यालय बाँकेले जनाएको छ ।
बुधबार सोही वडामा रहेको भवती सामूदायिक वनको वनमा दाउरा काट्न जानु भएकी चेतीलाई बाघ वा चितुवा मध्य कुनै एक वन्यजन्तुले आक्रमण गरी मारेको हुन सक्ने आशंका गरिएको शम्शेरगञ्ज शव डिभिजन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत मनोज शर्माले जानकारी दिनुभयो ।
“मृतकको टाउको नै नभएको अवस्थामा फेला परेको हुनाले हामीले बाघ वा चितुवा मध्य कुनै एक वन्यजन्तुले मारेको हुन सक्ने आशंका गरेका छौं ।” उहाँले भन्नुभयो,“मृतक चेतीलाई वन्यजन्तुले आक्रमण गर्दै गरेको कसैले नदेखेको हुनाले ठ्याक्कै बाघले नै मारेको भन्न सकिंदैन वा चितुवाले नै मारेको भन्न सकिंदैन । यस्को फरेन्सिक जाँच भयो भने मात्र हामीले तथ्यका आधारमा भन्न सक्छौं ।”
वरिष्ठ वन अधिकृत शर्माका अनुसार आज दिउँसो ३ बजेको समयमा महेन्द्रराजमार्गदेखि एक किलोमिटर पुर्वी भागमा लतारिएको अवस्थामा मृतक चेतीको लास भेटिएको थियो । उहाँका अनुसार यो समाचार तयार पार्दासम्म घटना स्थलमा बाँके राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षामा तैनाथ नेपाली सेना, शम्शेर डिभिजन वन कार्यालय बाँके, ईलाका प्रहरी कोहलपुर बाँके र स्थानीयहरुको सामूहिक उपस्थितिमा लासको मुचुल्काको लागी तयारी गरिंदैछ ।






