बाँके । बाँकेको नरैनापुर गाउँपालिका १ नेपाल बडर आउट पोष्ट कटकुईयाको पुर्वी सीमा क्षेत्र सुइया नाकामा सशस्त्र प्रहरीद्धारा निमार्ण गरिएको भौतिक संरचनाको आज समूदघाटन गरिएको छ । “सीमा बासीसंग सशस्त्र प्रहरी” कार्यक्रमको अवधारणा अनुरुप सशस्त्र प्रहरी बल नं।३० गण हे। क्वा वागेश्वरी बाँके र गाउँपालिकाको संयुक्त सहकार्यमा नेपाल भारत आवतजावत गर्ने सर्वसाधरणका लागी पिउने पानीको धारा, सार्वजनिक शौचालय र चौतारोको संयूरक्त रुपमा समूदघाटन गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्का बागेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक बिमल डाँगीका अनुसार छिमेकी देश भारतसँग सीमा जोडिएको बाँकेको नरैनापुर १ सुइयामा सार्वजनिक शौचालय ९महिला र पुरुष० र २ लाख लागतमा निर्माण गरिएको खाने पानी ट्याङ्कीका साथै बाँकेकै डुडुवा गाउँपालिकाको १ खडैचामा प्रतीक्षालय र खानेपानी ट्याङ्की निमार्ण गरिएको छ ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रलाई लक्षित गरेर ‘बोर्डर एरिया डेभलपमेन्ट प्लान’ सञ्चालन गरिरहेको र सोही योजना अन्तर्गत नेपाल–भारत सिमानाका स्थानीयको आवश्यकता अनुसार सशस्त्र प्रहरीले धारा, प्रतीक्षालय र शौचालय निर्माण गर्दै आएको गणपति डाँगीले बताउनुभयो । “सीमा नाकामा बस्ने दुई देशका नागरिकहरुलाई आवतजावत गर्दा शौच गर्ने वातावरण सहज होस् भन्ने उद्येश्ले हामीले सीमानाका भौतिक संरचना निमार्ण गरेका हौं ।” उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीले पुर्याएको योगदान सराहनीय रहेको बताउनुभएको थियो । “सीमाका बासिन्दाहरुको सबै पक्षलाई ध्यान दिनका लागि सशस्त्र प्रहरीहरु संबेदनशील हुन्छन् भन्ने कुराको यो एउटा उदाहरण हो ।” नगरप्रमुख विष्टले भन्नुभयो, “शान्ति सुरक्षासँगै बाटोमा हिंड्दा अत्वश्यक आई लाग्ने शौचका कुरामा पनि सशस्त्र प्रहरी गम्भिर छन् । यस्ता भौतिक संरचनाले विशेषगरी महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्रत्यक्ष सहयोग पुग्नेछ ।”
कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयसँगको सम्बन्ध अझ प्रगाढ र सुमधुर बनाएर काम गर्न सशस्त्र प्रहरीलाई सुझाव दिनुभयो । उहाँले समाजसँगको सम्बन्ध थप प्रगाढ बनाउँदै लगे सशस्त्र प्रहरीको काम, कारबाही अझ प्रभावकारी बन्ने बताउनुभयो ।
डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले निर्वाह गरिरहेको भूमिका अतुलनीय रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सशस्त्र प्रहरी सँग समन्वय गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । शौचालयको उद्घाटन पश्चात् सुइया सीमाको प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा अधिकारीहरुले निरीक्षण गर्नुभएको थियो ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) का श्रावस्ती ६२ बटालियन कमान्डेन्ट अमरेन्द्र कुमार बरुनले सीमा क्षेत्रमा सशस्त्र प्रहरी सँग नियमित बैठक र समन्वय हुने गरेको बताउँदै उहाँले बाँकेका प्रमुख जिल्ला अधिकारी रिजाल सँग नेपालबाट गाँजा, चरेस र मदिरा भारततर्फ हुने तस्करी नियन्त्रण नभएको गुनासो गर्दै समन्वय गरिदिन आग्रह गर्नु भएको थियो ।
यसका साथै सीमा नाकामा शौचालय, खानेपानी र प्रतीक्षालय निर्माण गरेर दुई देश बिचको सम्बन्धलाई अझ प्रगाढ बनाएको भन्दै भारतीय एसएसबी कमान्डेन्ट अमरेन्द्रले प्रशंसा गर्नुभएको थियो । उहाँले दैनिक दुई सय देखि ४ सय सम्म नागरिकहरू नेपाल भारत आवतजावत गर्ने गरेकोले शौचालय निर्माणले यात्रुहरूलाई सहज हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सीमा क्षेत्रमा सशस्त्र प्रहरी उभिएको देख्दा राष्ट्र नै त्यहाँ उभिएको भान हुने गरेको बताउनुभयो । उहाँले नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी, तस्करी नियन्त्रणसँगै सीमा सुरक्षा, विपद् व्यवस्थापन लगायतको सवालमा सशस्त्र प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै नेपाल भारत सिमानामा हुने तस्करी नियन्त्रण गर्न आफ्नो मातहतका निकायहरूलाई निर्देशन समेत दिनुभएको थियो ।






