बाँके । थारु समुदायको महान पर्व माघीको अवसरमा राप्तीसोनारी ४ मा माघ मिलन कार्यक्रम हुने भएको छ । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यका साथ राप्तीसोनारीमा यही पुष २७ गते माघ मिलन कार्यक्रम हुने भएको हो ।
थारु कल्याणकारिणी सभा बाँकेको आयोजनामा हुने माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । उहाँका अनुसार २६ गते नजिकैको सामूदायिक वनमा गएर मालु र सालको पात टिप्ने कार्यक्रम पनि रहेको छ । परम्परागत र मौलिक पनलाई बचाई राख्नको लागि प्लास्टिक र अन्य भाँडाकुँडाको प्रयोग नगरी हरियो पातमा थारु परिकारहरु पस्किएर थारु संस्कृति जर्गेना गर्ने उद्येश्यले सोही दिन नै सामूहिक दुना टपरी खुट्ने कार्यक्रम पनि रहेको थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष संगिता थारुले बताउनुभयो ।
उहाँका अनुसार माघ मिलन कार्यक्रममा १५ बढी गाउँका विभिन्न खालका थारु संस्कृति झल्कने मघौटा, हुरदुङ्ग्वा, छोक्रा, डफ, लठ्ठहवा, झुम्रा लगायतका नृत्य प्रस्तुत हुनेछ । कार्यक्रममा थारु परिकारहरु ढिक्री, घोघी, खुर्सानीको चटनी, बंगुरको मासु, जाँडको स्वाद समेत लिन सकिने अध्यक्ष थारुले जानकारी दिनुभयो । माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानीय थारु कलाकारहरुको प्रस्तुति समेत रहनेछ ।
माघ मिलन कार्यक्रममा थारु समुदायमा योगदान पु¥याएका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, बुद्धिजिवी, शिक्षक, पत्रकार, खेलाडी, कर्मचारी लगायतलाई सम्मान समेत गर्ने अध्यक्ष थारुले बताउनुभयो । गायक खेम भौगोरिया, गायिका श्रीदेवी थारु, गायिका सञ्जिता सुन कुशुम्या लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सांसद दुर्गा प्रसाद चौधरीले गर्ने रहेको छ ।






