बाँके । बाँकेको नेपालगञ्जमा पनि नेपाली टोपी दिवस मनाइएको छ । बास नेपालको आयोजनामा आज गणेशमान चोकमा टोपी दिवस मनाइएको हो । नेपाली टोपीले विश्वभरी नै नेपालीको पहिचान झल्काउँदछ । नेपाली टोपी दिवसका अवसरमा बाँकेबासीले नेपाली टोपी र पोशाकको जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल सरकारले नेपाली टोपी र दौरा(सुरुवाललाई राष्ट्रिय पोशाकको रुपमा अनिवार्य गरे पनि उच्च पदस्थ व्यक्तिहरु समेतले राष्ट्रिय पोशाकलाई बेबास्ता गर्दा राष्ट्रियताको बिषय नै ओझेलमा परेको बक्ताहरुको भनाई थियो ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले नेपालीको पहिचान बोकेको टोपीलाई सबै नेपालीले संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले नेपाली पहिचान नै शिरमा लगाउने ढाका र भादगाउँले टोपी भएको हुनाले नेपाली टोपीलाई पहिचानको स्वरुपमा सबैले संरक्षण गर्न आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाकी निबर्तमान उपप्रमुख उमा थापा मगरले नेपालीको पहिचानको रुपमा टोपी सबैलाई प्रयोग गर्न आग्रह गर्नुभयो । पुर्व उपप्रमुख थापाले नेपाली भन्ने बित्तिकै पुरै विश्वमा ढाका टापी लगाउने नागरिकको रुपमा नेपालीको पहिचान भएको हुनाले हरेक नेपालीले टोपी लागाउन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा मुस्लिम अगुवा कादिर अन्सारीले पनि नेपाली मुस्लिहरुले शिरमा ढाका टोपी लगाएर हज यात्रामा जाँदा त्याहाँ नेपालीलाई गरिने व्याहार निकै नै सम्माजन हुने धारणा व्यक्त गर्नुभयो । विश्वभरीका मुस्मिलहरुको सहभागीता रहने उक्त हज यात्रामा नेपाली भनेर शिरमा लगाईएको ढाका टोपीले पहिचान खुलाउने बताउँदै नेपाली टोपीलाई सबै नेपालीले आफ्नो देशको शानका रुपमा शिरमा सजाई रहनु पर्नेमा जोड दिनुभयो ।
नेपालमा वि. सं. २०७० सालदेखि टोपी दिवस मनाउन शूरु गरिएको हो । काठमाण्डौबाट शुरु गरिएको यो दिवस बिगत ५ बर्ष यता बाँकेमा बास नेपालले मनाउँदै आएको छ । नेपालमा कालोटोपी, भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीको रुपमा चिनिएको छ ।






