बाँके । नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय ९८ जनाको उद्धार गरिएको छ । माइती नेपाल नेपालगञ्जले आज एक तथ्यांक सार्वजनिक गर्दै नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय ९८ जनाको उद्धार गरेको जनाएको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा मानव बेचविखन तथा ओसारपसारविरुद्ध संचारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले सन् २०२४ मा भारत लगायत विभिन्न देशमा जोखिमपूर्ण यात्रामा निस्केका महिला तथा बालिकाको उद्धार गरेको जनाएको हो ।
उहाँका अनुसार काम, विवाह, घुमघाम, किनमेल लगायतको बहाना बनाएर नाका पार हुन थालेका शंकास्पद व्यक्तिलाई केरकार गर्दा जोखिमपूर्ण यात्रामा रहेको पाइएपछि ५ सय ९८ जनालाई नेपाल फिर्ता गरिएको हो । संयोजक कोइरालाले एक वर्षमा ७ सय ७७ जनाको खोजतलासको निवेदन परेको बताउनुभयो । त्यसमध्येमा ४ सय ७ जना फेला परेका छन् ।
भारत तथा तेस्रो मुलुकमा पुगेकाहरु सम्पर्कमा नआएपछि आफन्तीले खोजतलासको निवेदन दिने गर्दछन् । संयोजक कोइरालाले यो वर्ष पनि खोजतलासको निवेदन धेरै पर्नेमा बाँके अगाडि रहेको जानकारी दिनुभयो । जोखिमपुर्ण यात्रा गर्दै नाका पार हुनेहरुमा प्रायः जसो लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी सुर्खेत, बर्दिया, दाङ, जाजरकोट, दैलेख जिल्ला रहेका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर दलालहरु बेचविखनमा सक्रिय रहेको बताउँदै संयोजक कोईरालाले तीनै तहका सरकारसँग समन्वय गरेर मानव बेचबिखन नियन्त्रणसम्बन्धि काम गरिरहेको बताउनुभयो । माइती नेपालले मानव बेचबिखन नियन्त्रणका लागि सीमा नाकामा चेकजाँच गर्नुका साथै भारत लगायतका मुलुकमा बेचिएका र बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकालाई उद्धारका निम्ति काम गर्दै आएको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मानव बेचविखन सामाजिक कलंक र संगठित अपराध भएको उल्लेख गर्दै त्यस्ता क्रियाकलापमा संलग्नलाई निरुत्साहित गर्न मिडियाको अहम् भूमिका हुने बताउनुभयो । अध्यक्ष गिरीले मानव बेचविखन विश्वब्यापी समस्या भएकाले यसको नियन्त्रण र रोकथामका लागि सुरक्षा कुटनीतिको माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।






