बाँके । विश्वव्यापी रूपमा मानव आप्रवासनलाई लामो दूरीमा र एक देशबाट अर्को देशमा हुने बाह्य आप्रवासन र एउटै देश भित्र हुने आन्तरिक आप्रवासन गरी दुई भागमा विभाजन गरिन्छ । यसलाई ठाउँबाट अर्को ठाउँमा हुने मानिसहरूको भौगोलिक चाल पनि भन्न सकिन्छ । नयाँ भौगोलिक क्षेत्रमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा मानिसहरूको आवागमन हुने प्रक्रिया हो ।
यसरी आन्तरिक बसाइँसराई गर्ने क्रममा बाँके जिल्ला बसाइँसराईको उपयुक्त थलो बन्दै गई रहेको छ । यहाँको आठ स्थानीय तहमध्ये बाहिरी जिल्लाबाट बसाइँसराई गरेर आउनेहरुको संख्या सबैभन्दा बढी कोहलपुर नगरपालिकामा आएको पाइएको छ । आर्थिक वर्ष २०८० ०८१ को तथ्याङ्क अनुसार जिल्ला बाहिरबाट बसाइँसराइ गरेर बाँके जिल्लाका विभिन्न पालिकामा आउने नागरिकको सङ्ख्यामध्ये सबैभन्दा बढी कोहलपुरमा आएको पाइएको हो ।
गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर २ हजार ३९ परिवार बाँकेमा आएको पालिकाको तथ्यांकमा उल्लेख छ । ती २ हजार ३९ परिवारका छ हजार एक सय दश जना सदस्य जिल्लाका विभिन्न पालिकामा आएका हुन् । उक्त तथयांकका अनुसार ९ सय १८ परिवारका २ हजार ६ सय ४८ जना सदस्य जिल्ला छाडेर अन्यत्र गएका छन् ।
गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बाँके जिल्लामा बसाइँसराई गरेर आउनेको सङ्ख्या सबैभन्दा धेरै कोहलपुरपछि नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिका रहेको छ । कोहलपुर नगरपालिकाका एमआइएस अपरेटर रोशन चापागाईँका अनुसार कोहलपुरमा गत आर्थिक वर्षमा ७ सय ६१ परिवारका २ हजार १ सय ६४ जना नागरिक बसाइँसराई गरेर आएका छन् । उक्त वर्षमा २ सय ५४ परिवारका ६ सय ९९ जना सदस्यले बसाइँ सरेर अन्यत्र गएको उहाँले जानकारी दिनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा गत आर्थिक वर्षमा ५ सय ३३ परिवारका १ हजार ६ सय ७८ जना सदस्य बसाइँ सरेर आएको नेपालगन्ज उपमहानगरपालिकाका पञ्जीकरण शाखाका कर्मचारी अमरकुमार चिडिमारले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त वर्षमा नेपालगन्जबाट ३ सय १२ परिवारका ९ सय ६८ जना सदस्यले बसाइँ सरेर बाहिरी जिल्ला गएका छन् ।
बैजनाथमा गत आर्थिक वर्षमा ३ सय ६६ परिवारका १ हजार १ सय ५६ जना सदस्य बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएको र १ सय ४६ परिवारका ४ सय सदस्यहरू बसाइँ सरेर अन्यत्रै गएको पञ्जीकरण शाखा प्रमुख यमुनाकुमारी शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी खजुरा गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख राजेन्द्रकुमार वर्माका अनुसार खजुरामा २ सय ४४ परिवारका ७ सय ३३ जना सदस्यहरू बसाइँसराइ गरेर आएका छन् । उक्त आर्थिक वर्षमा ९७ परिवारका २ सय ८६ जना सदस्य अन्यत्रै बसाइँ सरेर गएका छन् ।
बाँकेको डुडुवा गाउँपालिकामा गत आर्थिक वर्षमा बसाइँ सरेर कोही पनि नआएको पालिकाका एमआइएस अपरेटर कौशलकुमार कैराती (कुर्मी)ले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त आर्थिक वर्षमा ४ परिवारका १६ जना सदस्य बसाइँसराइ गरेर बाहिर गएका छन् ।
जानकी गाउँपालिकामा पनि बसाइँसराई गरेर आएका मध्य गत आर्थिक वर्षमा १ परिवारका ४ जना सदस्य रहेका छन् भने २ परिवारका ६ जनाले बसाइँ सरेर बाहिर गएको सोही पालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एमआइएस अपरेटर राजीव चौधरीले बताउनुभयो । नरैनापुरमा १५ परिवारका ४४ जनाले बसाइँ सरेर आएको र ६ परिवारका १९ जनाले बसाइँसराइ गरेर अन्यत्र गएको पञ्जीकरण शाखाका एमआइएस अपरेटर गोविन्दप्रसाद गोडियाले जानकारी दिनुभयो ।
त्यसैगरी कोहलपुरबाट ५ सय २८ परिवारका १ हजार ६ सय १३ जना, नेपालगन्जबाट ५ सय २२ परिवारका १ हजार ५ सय ९५ जना, बैजनाथबाट २ सय ३७ परिवारका ७ सय ५० जना, खजुराबाट २ सय १४ परिवारका ७ सय २५ जना, राप्तीसोनारीबाट १ सय ७७ परिवारका ५ सय ७६ जना, डुडुवाबाट ४ परिवारका १८ जना, जानकीबाट ११ परिवारका ३८ जना र नरैनापुरबाट ११ परिवारका ५१ जना गरी कुल १ हजार ७ सय ४ परिवारका ५ हजार ३ सय ६६ जनाले बसाइँसराई गरेर अन्यत्र गएको तथ्याङ्क रहेको छ ।
आर्थिक वर्ष २०७९ ०८० मा कोहलपुरमा १ हजार ३ सय ३६ परिवारका ४ हजार ७४ जना, नेपालगन्जमा ९ सय २५ परिवारका ३ हजार १५ जना, बैजनाथमा ५ सय ३५ परिवारका १ हजार ८ सय ७४ जना, खजुरामा ३ सय ५४ परिवारका १ हजार १ सय ७६ जना, राप्तीसोनारीमा २ सय ५७ परिवारका ७ सय ८४ जना, डुडुवामा दुई परिवारका ८ जना, जानकीमा ३ परिवारका १२ जना र नरैनापुरमा १७ परिवारका ६४ जना गरी कुल ३ हजार ४ सय २९ परिवारका १ हजार १ सय ७ जना बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएका थिए ।
आर्थिक वर्ष २०७९ ०८० मा भन्दा गत आर्थिक वर्षमा बसाइँसराई गरेर आउने र जानेको सङ्ख्यामा कमी पाइएको छ । गत आर्थिक वर्षमा भन्दा अघिल्लो आर्थिक वर्षमा जिल्लामा बसाइँसराइ गरेर आउने तथा जानेको सङ्ख्या दोब्बर रहेको थियो । उक्त आर्थिक वर्षमा ३ हजार ४ सय २९ परिवारका १ हजार १ सय ७ जना सदस्य जिल्लामा बसाइँसराइ गरेर आएका थिए भने १ हजार ७ सय ४ परिवारका ५ हजार ३ सय ६६ जना सदस्यले जिल्ला छाडेर अन्यत्र बसाइँ सराई गरी गएका थिए ।
बसाइँ सराईको परिभाषा पूर्ण नहुने हुँदा निश्चित समय अवधिमा, निश्चित भौगोलिक वा राजनितिक एकाइकबाट अर्को भौगोलिक वा राजनितिक एकाईमा बासस्थान परिवर्तन गरेर हुने मानिसहरूको भौगोलिक चाललाई बसाइँसराई भनिन्छ । यसकारण निश्चित समय अवधि, निशचित भौगोलिक दुरी र वासस्थान परिवर्तन बसाइसराईका आवश्यक पक्षहरू हुन् ।
मानव बसाइँसराई मानिस आफ्नो बसोबासका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने कृया हो । यसका दुई प्रकार आन्तरिक र बाह्य हुन् । त्यसैगरी यसलाई स्थायी बसाइँ सराई र अस्थायी बसाइँ सराई गरी अर्को तरिकाले पनि छुट्याउन सकिन्छ । आन्तरिक बसाइँसराई देशभित्रको बसाइँसराइ भन्ने बुझिन्छ भने बाह्य बसाइँसराइ देश बाहिर बसाइँ सर्ने प्रक्रियालाई बुझिन्छ ।






