बाँके । महिला तथा बालबालिकामाथि हुने घटना गत वर्षको तुलनामा यो वर्ष बढेको एक तथ्यांकले बताएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २०८० पुष १६ गतेदेखि २०८१ पुष ९ गतेसम्म संकल गरेको मानव अधिकार तथा ज्यादतीका घटनाको विवरणमा महिला तथा बालिका बलात्कारको घटना गत वर्षको तुलनामा यो वर्ष बढेको तथ्यांकमा उल्लेख छ ।
प्रत्ये वर्ष सार्वजनिक गर्ने नेपाल मानवअधिकार वर्ष पुस्तकको वार्षिक पूर्व समिक्षात्मक कार्यक्रममा बालबालिका सम्बन्धि ३९ वटा र महिला सम्बन्धि १०९ वटा घटना घटेको इन्सेकको सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । जसमा बालिका बलात्कारको ३२ वटा घटना संकलन हुँदा बालिका बेचविखनको ४ वटा र यौन दुव्र्यवहारको ३ वटा घटना रहेको छ ।
यस्तै महिला बलात्कारको २७ वटा घटना हुदाँ घरेलु हिंसाका ५१ वटा घटना तथ्यांकमा उल्लेख गरिएको छ । यसैगरी बेचविखनको ६ वटा, बलात्कार प्रयासको एउटा, बेचविखन प्रयासको ३ वटा, बहुविवाहको २७ र बोक्सि आरोप एक वटा घटना घटेको पाइएको ईन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले जानकारी दिनुभयो ।
सार्वजनिक गरिएको उक्त तथ्यांकमा अमानवीय व्यवहारका घटना १३, घाईते १७, हत्या ६, धम्की ४, कुटपिट ८, अपहरण १ र हत्या एक जनाको भएको छ । जस्मा राज्यपक्षबाट ८ महिला र ८ पुरुष गरि १६ जना घाईते हुँदा हिरासतमा एक जना पुरुषको मृत्यु भएको इन्सेकले संकलन गरेको तथ्यांमा उल्लेख छ ।
इन्सेकले प्रत्येक वर्ष मानवअधिकार तथा ज्यादतीका घटनाहरुको संगालो वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ । वर्षेनी महिला तथा बालकालिकामाथि हुने बलात्कार, बलात्कार प्रयास, बेचविखन, दुव्र्यवहार, घरेलु हिंसा लगायतका घटना घट्नुको साटो बढ्दो क्रममा रहेको हुनाले सरोकारवाला गम्भीर भएर लाग्न ईन्सेकले आग्रह गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले संविधानले हक र अधिकार प्रदान गरेता पनि मानवअधिकार हनन् र ज्यादतीका घटना न्यूनीकरणमा कर्तव्य पालना कमजोर देखिएको बताउनुभयो । ‘मानवअधिकारको संरक्षण गर्न आगामी दिनमा नगरपालिका संवेदनशील हुनेछ ।’, उहाँले घटनाहरुलाई नछुटाएर दस्तावेजिकरण आग्रह गर्दै भन्नुभयो,‘प्रत्येक वर्ष हुने घटनाको अवस्थालाई दस्तावजिकरण गर्ने कार्य इन्सेकले गरेको छ । अझ संकलनमा आउन नसकेका घटनालाई दस्तावेजिकरण गर्नुहोला ।’
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले इन्सेकद्वारा प्रकाशन हुने मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार हनन् तथा ज्यादतीबाट पीडितहरूको अधिकारका लागि एउटा कोसेढुङ्गा सावित भएको बताउनुभयो । यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले मानव अधिकार वर्ष पुस्तकले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न मद्दत पुग्ने हुनाले पुस्तकमा छापिने घटनाहरू तथ्यपरक हुनु पर्नेमा जोड दिनुभयो ।
समिक्षामा आएका सुझावलाई मध्यनजर गदै राज्यका संयन्त्र अर्थात प्रहरी प्रशानसन, स्थानीय निकायसम्म आएका मात्र नभई बाहिर आउन नसकेको घटनालाई समेत समेट्ने इन्सेक लुम्बिनी प्रदेश नेपालगन्ज कार्यालयका संयोजक महतले बताउनुभयो । सोही क्रममा इन्सेकले सङ्कलन गर्ने मानव अधिकार उल्लङ्घनको घटनामा आर्थिक, शिक्षा, सामाजिक तथा साँस्कृतिक अधिकारसँग जोडिएर तथ्याङ्क बाहिर ल्याउन सरोकारवालाहरुले सुझाव दिएका थिए ।






