बाँके । नेपालगञ्ज कनक्लेभमा जलवायु परिवर्तनदेखि सिनेमासम्मको बहस भएको छ । धारा नेपालगञ्ज म्याराथनको दशौं संस्करणको पूर्व सन्ध्यामा आयोजित नेपालगञ्ज कनम्लेभको दोस्रो दिन जलवायु परिवर्तनदेखि शिक्षाको महत्व, सिनेमा र साहित्यले दर्शाएको समाज परिवर्तनको चित्रबारे बहस भएको हो ।
‘ऐच्छिक होइन, अनिवार्य इतिहास शिक्षा’ विषयक आफ्नो विद्धत प्रवचनमा पत्रकार तथा इतिहास लेखक मोहन मैनालीले इतिहासको सही अध्यापन विद्यालयस्तरमा नहुँदा त्यसले सृजना गरेका भ्रमहरुमाथि व्याख्यान दिनु भएको छ । ‘इतिहासको काल भुत त हुँदै हो, वर्तमान र भविष्यत काल पनि हो । यसले अहिलेलाई र भविष्यलाई पनि प्रभावित गरिररहेको हुन्छ । उहाँले भन्नुभयो,‘त्यसैले यसलाई ऐच्छिक नभएर अनिवार्य विषय बनाउनुपर्छ । जुन विषय पढे पनि इतिहास अनिवार्य पढाउनुपर्छ ।’
मैनालीले नेपालमा इतिहास पढाउँदा हुँदै नभएको कुरालाई लहड र हल्लाका भरमा पढाइने गरेका दृष्टान्तहरु प्रस्तुत गर्नु भएको थियो । उहाँले नेपालमा इतिहास पढाउँदा गरिएका गल्तीहरुका उदाहरण प्रस्तुत गर्दै भन्नुभयो,‘हामीलाई अपूरो इतिहास पढाइएको छ । हल्लैहल्लाको इतिहास पढाइएको छ । पुर्खाको मानमर्दन गरिएको छ ।’
कनक्लेभको दोस्रो शत्रमा ‘जलवायु परिवर्तनः पग्लिँदै हिमाल, तात्दै गएको तराई’ भन्ने विषयमा वक्ताहरुले जलवायु परिवर्तनले पारेका प्रभाव र त्यससँग लड्नका लागि भइरहेका प्रयास र उपायहरुबारे छलफल गरेका थिए । उक्त शत्रमा बोल्दै जलवायु परिवर्तन विज्ञ डा. विमल रेग्मीले भन्नुभयो,‘अन्तर्राष्ट्रिय स्तरमा राजनीतिक हिसाबले कसरी जलवायु परिवर्तनको विषयलाई उठाइएको छ भन्ने कुरा पनि महत्वपूर्ण हो । यो राजनीतिक प्राथमिकतामा परेको छैन । यसको पीडा भोगेकाहरुका कुराहरु र यो मुद्दाको स्थानीयकरण हुन सकेको छैन ।’
यसैगरी बरिष्ठ आर्किटेक्ट दिव्या आचार्यले १ प्रतिशतले तापक्रम बढ्दा २ प्रतिशत भन्दा बढीले बाल मृत्युदर बढ्ने अनुमान गरिएको बताउँदै यसले समग्र उत्पादकत्वमा पनि असर गर्ने बताउनुभयो । संरक्षणकर्मी आशिष चौधरीले टिप्पणी प्रस्तुत गर्दै चुरे क्षेत्रको दोहनको विषय अहिले तराईका लागि ठूलो समस्याको रुपमा देखिएको प्रष्ट्याउनु भएको थियो ।
कनक्लेभको तेस्रो शत्रमा ‘किन दौडिन्छ मान्छे ?’ शिर्षकमा ओलम्पियन धावक सन्तोषी श्रेष्ठ, पाइलट विजय लामा, मिस नेपाल आश्मा केसी र फिल्म निर्देशक मनोज पण्डितले बहस गरे । श्रेष्ठले मानिसको डिएनएमा नै दौड रहेको बताउनु भएको थियो भने लामाले शरीर र मनलाई एकाकार गर्न मान्छे दौडिनु आवश्यक रहेको बताउनुभयो ।
मनोज पण्डितले भने अहिलेको समयमा मानिसको यात्रा बाहिरी दुनियाँमा नभई आन्तरिक संसारमा हुनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । त्यसैगरी आश्मा केसीले मानिसको जीवनको दौड र खेलको दौडको सम्बन्ध हुने बताउनु भएको थियो । प्राध्यापक केशव सिग्देलले मानिसमा आशा बाँकी रहीराख्नका लागि दौडमा सामेल भइरहनु जरुरी रहेको बताउनुभयो ।
कनक्लेभको अन्तिम शत्रमा ‘साहित्य र समाजको ऐनामा समाज परिवर्तनको चित्र’ विषयक छलफल भएको थियो । उक्त शत्रमा साहित्यकारहरु नयनराज पाण्डे, रमेश क्षितिज र रेशम विरही तथा चलचित्र अभिनेत्री केकी अधिकारीले बहस गर्नु भएको थियो । उहाँहरुले साहित्यले समाजमा तुरुन्तका तुरुन्तै परिवर्तन ल्याउने नभई यसले समाजको मनोविज्ञान र चेतनामा प्रभाव पार्ने बताउनुभयो ।
नेपालगञ्ज म्याराथनको पूर्व सन्ध्यामा आयोजक क्रियटिभ ह्याड्सले समाजका विभिन्न मुद्दाहरुमा बहस गराउँदै आएको छ । गत बर्ष एक दिन भएको नेपालगञ्ज कनक्लेभ यस बर्ष दुई दिनसम्म चलेको हो । कनक्लेभको पहिलो दिन विहीबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँग संवाद, देशले गर्छ विद्युत निर्यातः नेपालगञ्जले भोग्छ उर्जा संकट, व्यापार घाटाको दिगो व्यवस्थापनः निर्यात वस्तुमा वृद्धि, पर्यटनको नक्सामा पश्चिम नेपालको नयाँ सर्किट, नेतृत्वको खडेरी दलमा, देशमा शिर्षकमा बहस गरिएको थियो ।






