बाँके । नीलगाईलाई मारेको आरोपमा बाँकेमा दुईजना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय बाँकेले राप्ती सोनारी गाउँपालिकाबाट नीलगाईलाई मारेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । राप्तीसोनारी गाउँपालिका–६ का लालबहादुर थारू र सुरेशशमशेर राणा भन्ने व्यक्तिलाई नीलगाईको मासुसहित नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
राप्ती सब डिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत रामगणेश शाहले राप्ती सोनारी–६ लक्ष्मीराजपुरका लालबहादुर थारूको घरबाट नीलगाईको काटिएको अवस्थामा टाउको, खुर, मासु, छाला र भुँडी बरामद गरिएको जानकारी दिनुभयो । ‘आइतबार राति उक्त घरमा नीलगाई मारेर ल्याएको सुराक हामीले पायौँ, सुराकका आधारमा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकसहितको हाम्रो टोली उक्त स्थानमा राति १ बजेको समयमा पुग्यौँ ।’ उहाँले भन्नुभयो,‘उक्त घरमा सुरेशशमशेर राणा भन्ने व्यक्तिलाई नीलगाईको मासु सहीत फेला पा¥र्यौं । उहाँलाई राति नै नियन्त्रणमा लियौँ ।’
‘राप्ती सब डिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत शाहका अनुसार सोमबार बिहान घर खानतलासी गर्दा ३९ किलोग्राम तौलबराबरको नीलगाईको टाउको, खुर, मासु, छाला र भुँडी गरेर घरधनी लालबहादुर थारुलाई पनि नियन्त्रणमा लिईएको हो । वन अधिकृत शाहले भन्नुभयो,‘बरामद गरिएको मासुलगायतलाई स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन टोली, स्थानीयबासीको रोहबरमा खाडल खनेर गाड्यौँ र नियन्त्रणमा लिएका राणा र थारूलाई डिभिजन वन कार्यालयको थुनुवा कक्षमा राखेर प्रारम्भिक अनुसन्धान शुरु गरिएको छ ।’






