बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले समाजलाई अपराध मुक्त बनाउन अहोरात्र खटिने प्रहरीसंग नागरिकले हातेमालो गर्न आवश्यक रहेको बताउनु भएको छ । ६९ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ रिजालले सो कुरा बताउनु भएको हो ।
‘सिमित श्रोत र साधनको प्रयोग गरेर समाजमा शान्ति र सुरक्षा कायम गर्न अहम भूमिका खेल्दै आएको प्रहरीलाई नागरिकको सहयोग र सहकार्य आवश्यक हुने भएकोले सबैको सहकार्य आवश्यक छ ।’ प्रजिअ रिजालले भन्नुभयो,‘नागरिकले प्रहरीको कारण सुरक्षा अनुभूती गरेका छन् । प्रहरीको आफ्नै गर्भिलो ईतिहास छ । सबै भन्दा बढी नजिक प्रहरी विपदको बेलामा हुने भएकोले प्रहरीलाई सबैको सहयोग र सद्भाव आवश्यक छ ।’
कार्यक्रममा नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम गरी सभ्य समाज निर्माणका लागि पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै प्रहरीसंग नागरिकको धेरै अपेक्षा हुने गरेकोले प्रहरीलाई सबैले सहयोग गर्न आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
सोही अवसरमा अमर प्रहरी परिवारका तर्फबाट एकमाया विकले आफ्ना परिवारजनको स्मारक सहितको शालिक निर्माणका लागि पहल गरिदिन आग्रह गर्नु भएको थियो । उहाँले जनता र राज्यको सेवा गर्दागर्दै ज्यान गुमाएका आफन्ताको शालिक निर्माणका लागि पहल गरिदिन सबैलाई आग्रह समेत गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले प्रहरीसंग सेवा लिन आउनेलाई मिठो बोलेर सेवा दिन सबै युनिटलाई निर्देशन दिनुभएको थियो । उहाँले सबैको चित्त बुझाएर काम गर्न भन्दा पनि पीडितले न्याय पाउने गरी सेवा प्रवाह गर्नु नै प्रहरीको धर्म भएको बताउनुभयो ।
कार्यक्रममा असक्त अवकाश प्राप्त प्रहरी परिवारका तर्फबाट शेरबहादुर बस्नेत, पूर्व प्रहरी कर्मचारी परिवारबाट शशिधर अधिकारी, पूर्व प्रहरी वरिष्ट उपरिक्षक वीरबहादुर वलीलगायतले प्रहरी दिवसको अवशरमा शुभकामना व्यक्त गरेका थिए ।
सोही अवसरमा दिवसको सन्र्दभमा अमर प्रहरी परिवारका परिवारलाई दोसल्ला ओडाई सम्मान गर्नुको साथै जेष्ठ पुर्व प्रहरीलाई सम्मान स्वरुप प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकबाट कदर पत्र तथा दोसल्लाले सम्मान गरिएको थियो । विभिन्न गतिविधिमा प्रथम द्वितिय तृतिय स्थान हाशिल गरेका विभिन्न दर्जाका प्रहरीहरुलाई पुरस्किृत समेत गरिएको थियो ।
साथै ६९ औं प्रहरी दिवसको अवसरमा बिभिन्न बिधामा संचालन गरिएको ब्याडमिन्टन, टेबल टेनिस र कुर्सी दौड प्रतियोगिता संचालन गरिएकोमा खेलकुदमा प्रथम, द्वितीय हुनेलाई प्रमाण पत्र प्रदान गरीएको थियो ।
सो अवसरमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, नेपाली सेनाका सेनानी, शसस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख ओम बहादुर खड्का, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
तस्विर…..
















