बाँके । ३० असोजः बाँकेमा प्रहरीहरुले रक्तदान गरेका छन् । “६९ औं प्रहरी दिवस २०८१” को अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्धारा आयोजित कार्यक्रममा प्रहरीहरुले रक्तदान गरेका हुन् । अस्पताल प्रमुख प्रा.प्र.उ.डा. अच्युत बिक्रम हमालका अनुसार बाँकेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव नहोस् भन्ने उद्येश्यले प्रहरी दिवसको अवसरमा अस्पताल तथा विभिन्न प्रहरी इकाईहरुमा कार्यरत प्रहरीहरुले रक्तदान गरेका हुन् ।
आज गरिएको उक्त रक्तदान कार्यक्रममा २८ जना पुरुष प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए भने ३ महिला प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए । त्यसैगरी १ जना पूर्व प्रहरी कर्मचारी सहीत जम्मा ३२ जनाले रक्तदान गरेको डाक्टर हमालले जानकारी दिनुभयो । उक्त रक्तदान कार्यक्रममा सहभागि भएका प्रहरी कर्मचारीहरुलाई अस्पतालका प्रमुख जिम्मेवारी सम्हाल्दै आउनु भएका अच्युत विक्रम हमालद्धारा संशा पत्र वितरण गर्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्त सञ्चार केन्द्र बाँकेका प्रमुख उपेन्द्र रेग्मीका अनुसार चाडबाडले गर्दा रगत संकलन हुन नसकेको अवस्थामा नेपाल प्रहरीले यो वर्ष चाडबाड पछि पहिलो पटक बाँकेमा रगत संकलन गरेको जानकारी दिनुभयो । ‘प्राय चाडबाड मनाउन सबै जासो मानिसहरु शहर छोडेर गाउँ जाने हुँदा त्यो समयमा रगत संकलन हुन सक्दैन र त्यस्तो अवस्थामा रक्त सञ्चार केन्द्रमा रगतको अभाव हुन सक्ने सम्भावना धेरै नै हुन्छ ।’ उहाँले भन्नुभयो,‘त्यही अवस्थालाई मध्यनजर गर्दै बाँकेमा यो वर्ष पहिलो पटक नेपाल प्रहरीले रगत संकलन गरेको छ ।’
रेडक्रस सोसाईटी बाँकेका प्रमुख रेग्मीले आज गरिएको रक्तदानबाट ३२ युनिट रगत संकलन भएको छ । उहाँका अनुसार बाँकेको रक्तसञ्चार केन्द्रमा हाल रगत पर्याप्त नभएपनि अभाव भने छैन । ‘हामी कहाँ रगत पर्याप्त त छैन तर अभाव पनि छैन ।’ उहाँले भन्नुभयो,‘रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन नदिन बाँके प्रहरीले आज ३२ युनिट रगत संकलन गरेर रेडक्रसलाई उपलब्ध गराएको छ ।’ बाँकेको रक्तसञ्चार केन्द्रमा प्रायः रगतको अभाव भईरहन्छ ।
तस्विर……









