बाँके । नेपालगञ्ज भन्सार कार्यालय बाँकेले कार्यालयको गेट अगाडी भएको चेकजाँचको बेरियरलाई नेपाल भारत सीमानाका जमुनाह नजिकै सारेको छ । आज सीमानाकामा चेकजाँचको बेरियरलाई सारेसँगै यात्रु शाखाको बेरियर गेट खुल्ने समय पनि बढाएको भन्सार कार्यालय बाँकेले जनाएको छ ।
भन्सार कार्यालय बाँकेका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले आजदेखि बेरियर गेट रातीको साढे १० बजेसम्म खुल्ने बताउनुभयो । ‘भारतीय सीमा सुरक्षाको बेरियर नेपाली समय अनुसार राती सवा १० बजेसम्म (भारतीय समय १० बजे) खोलि दिने र भारतीय समय अुनसार नेपाली समय पन्ध्र मिनेटको फरक हुँदा दुवै देशको समयको तालमेल नमिल्ने भएको हुनाले हामीले यात्रुहरु मर्कामा परेको कुरालाई ध्यानमा राखी आजैदेखि राती साढे दश बजेसम्म गेट खुल्ने निर्णय गरेका हौं ।’ उहाँले भन्नुभयो ।
राजश्व चुहावट नियन्त्रण समितिको यही असोज एघार गतेको बैठकको निर्णयलाई कानूनी रुपमा भन्सार प्रमुखले नै निर्णय गर्नु पर्ने भएकोले भन्सार नियमावलीको दफा ६६ का अनुसार आज असाजे २३ गते यात्रु शाखाको बेरियर गेटलाई जमुनाह सीमानाकामा सारिएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख पौडेलले बताउनुभयो ।
यसले सीमामा रहेका नेपाली बस्तीका मानिसहरुको आवागमनलाई सहज बनाउनेछ । यसअघि सीमाबर्ती गाउँका बासिन्दाले ब्यहोर्दै आएको सास्ती अब हट्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग बाणिज्य संघले लामो समयदेखि यस विषयमा आवाज उठाउँदै आएका थिए ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भारतीय र नेपाली सीमा सुरक्षा बेरियर गेट बन्द हुने समय नमिल्दा भइरहेको अप्ठरोको समाना अब यात्रुहरुले भोग्न नपर्ने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यो निर्णय कार्यान्वयनसंगै नागरिकलाई निकै सहज हुने बताउनुभयो ।
बेरियर गेट खुल्ला रहने समय बढाइएको बारेमा जानकारी दिन जमुनाहमा आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी, ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्त लगायतको उपस्थिति थियो ।
नाकाबाट नेपाली भन्सार परिसरमा रहेको पुरानो बेरियरसम्म पैदल आउन पन्ध्र मिनेट समय लाग्थ्यो । उक्त बेरियर गेट यसअघि रातीको १० बजे नै गेट बन्द हुने गरेको थियो ।






