बाँके । बाढीपीडितहरुका लागि भारत सरकारका तर्फबाट राहत सामाग्री हस्तान्तरण गरिएको छ । भारतीय राजदुताबास काठमाण्डौका द्धितिय सचिवद्धय आषिश सिन्हा र नारायण सिंहद्धारा नेपाल सरकारका तर्फबाट सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई राहत सामाग्री हस्तान्तरण गरिएको हो ।
भारु एक करोड अठार लाख एकाउन्न हजार बीस रुपैँया बराबरको राहत सामाग्री प्रजिअ रिजाल समक्ष हिजो नेपालगञ्ज विमान स्थलको परिसरमा रहेको ‘मानवीय सहायत स्थल’ मा हस्तान्तरण गरिएको थियो । उक्त राहत सामाग्री ग्रहण गर्दै प्रजिअ रिजालले भारत सरकारलाई धन्यबाद दिनुभयो । ‘नेपाल विपदमा पर्दा छिमेकी देश भएको नाताले भारत सरकारले सधैं राहत सामाग्री दिएर सहयोग गर्दै आइरहेको छ ।’ उहाँले भन्नुभयो,‘यो पटक पनि देशमा आएको बाढीले ठूलो धनजनको क्षति पुर्याएको बेला भारत सरकारले गरेको यो सहयोगकालागि नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्दछु ।’
सोमबार दुई ट्रक राहत सामाग्री हस्तान्तरण गरिएको थियो । उक्त राहत सामाग्री अन्तर्गत क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाल रहेकाछन् । प्रजिअ रिजालका अनुसार भारत सरकारको तर्फबाट भोलि पनि चार ट्रकमा राहत सामाग्री आउने र सबै राहत सामाग्री संकलन भएपछि मात्रै हवाईजहाज मार्फत काठमाण्डौ पठाइने छ ।







