बाँके । सेवा निबृत्त प्रहरीहरुले वाहालबाला प्रहरी सहर नै अझै पनि आफुहरु देशको सेवा गर्न सक्षम रहेको बताएका छन् । नेपाल पूर्व प्रहरी संगठन बाँकेले विजया दशमीलगायतका विभिन्न पर्वहरुको अवसर पारेर आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका सहभागीले वाहालबाला प्रहरी सहर नै अझै पनि आफुहरु देशको सेवा गर्न सक्षम रहेको बताएका हुन् ।
नेपाल पूर्व प्रहरी संगठन लुम्बिनी प्रदेश उपाध्यक्ष तथा अवकाश प्राप्त प्रहरी नायव उपरिक्षक ज्योती प्रसाद श्रेष्ठले लामो समय नेपाल प्रहरी जागीरे जीवन विताएको कारण समाजमा अपराध नियन्त्रण, लागु औषध बिरुद्ध सचेतना फैलाउने, मानवबेचविखन रोकथाम तथा ट्राफिक व्यवस्थापनलगायतका कार्यहरुमा प्रहरीको सहयोगीको रुपमा अझै पनि सेवा दिन आफुहरु सक्षम रहेको बताउनुभयो ।
‘हामी प्रहरी संगठनकै परिवारको सदस्य हौं । हामी सेवानिबृत्त भएपनि अझै देशको लागि काम गर्न सक्षम छौं ।’ उहाँले भन्नुभयो,‘हामीले अवकाश प्राप्त गर्दा वर्दीमात्र छाडेर आएका हौं । ज्ञान र सिप त हामीसँगै छ । जस्ले आजीवन देश र समाजको रक्षा गर्न सक्छ ।’ उपाध्यक्ष श्रेष्ठले संगठनमा बस्दा उर्जा बल मिल्ने कुरामा जोड दिदै संगठनको नियमित ताकेताको कारण पूर्व प्रहरीलाई मर्दा सलामी, पाउने क्रियाखर्च र बाँच्दा उपचार अनि पेन्सन पट्टा नविकरणको व्यवस्था आफ्नै जिल्लाबाट हुने व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।
संगठनका केन्द्रीय सदस्य धर्मराज सुनारले संगठनमा आवद्ध रहेर अफैपनि देशको सेवा गर्ने हुटहुटी रहेको बताउँदै जीवनको एक काल बिताएको प्रहरी संगठनले पनि आफुहरुसंग सहकार्य गरेर जानुपर्नेमा जोड दिनुभयो । ‘हामी देशको सरक्षार्थ जन्मिएका हौं । अवकास प्राप्त गरेता पनि हामीमा अपराध नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने कुरामा राम्रै ज्ञान छ ।’ उहाँले भन्नुभयो,‘हामी पुर्व प्रहरीहरुले समाजलाई सुशासनको मार्गमा डोर्याउन सक्छौं । लागु औषध बिरुद्ध सचेतना फैलाउने देखि मानवबेचविखन रोकथाम तथा ट्राफिक व्यवस्थापनलगायतका कार्यहरुमा हामीले सहयोगी भूमिका खेल्न सक्छौं । तर हामीसँग पनि बाहालवाल प्रहरीहरुले सहकार्य गर्नु पर्यो ।’
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले समृद्ध समाज निर्माणको लागि प्रहरीले पूर्व प्रहरीसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । ‘अवकास पाउनु पुर्व तपाईँहरु पनि राज्यले समृद्ध समाज निर्माणको लागि सुम्पिएको जिम्मेवारी पुर्ण रुपले पुरा गर्नु भएको प्रहरी कर्मचारी हुनुहुन्छ ।’ उहाले भन्नुभयो,‘तपाईँहरुसँग भएको अनुभवलाई साँटासाँट गर्दै बाँकेलाई शान्त, सुरक्षित र सदभावको शहर बनाउन हामी अवश्यक सहकार्य गर्नेछौं ।’ प्रहरी प्रमुख कार्कीका अनुसार अवकाश प्राप्त प्रहरी पनि आफ्नै परिवारको सदस्य भएको कुरामा जोड दिंदै सहकार्यका लागि सदैव आफुहरु तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम पूर्व डिएस्पी शशिधर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पूर्व डिएस्पी तथा संगठनका संरक्षक कृष्णमान श्रेष्ठ, सूर्यबहादुर खड्का, यामबहादुर गैरे लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण प्रवक्ता अरुणकुमार सिंहले गर्नुभएको थियो ।






