बाँके । नजिकिएको चाडपर्वलाई मध्यनजर गर्दै बाँकेमा ‘संयुक्त भीड नियन्त्रण अभ्यास’ प्रर्दशनी गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना र सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हे क्वा वागेश्वरी बाँकेको सहकार्यमा आज लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँकेमा ‘संयुक्त भीड नियन्त्रण अभ्यास’ प्रर्दशनी गरिएको हो ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जनताको अन्तिम आशा भरोसा प्रहरी प्रशासन नै भएको हुनाले बाँकेबासीलाई प्रहरी प्रशासनसँग समन्वय गरेर जिल्लामा शान्ति कायम गर्न आग्रह गर्नुभयो । ‘हामी सबैले कानूनी राज्यको स्थापना गर्दै यस्को सम्बद्र्धन र पबद्र्धन गर्नुपर्दछ । र यो हामी सबैको जिम्मेवारी पनि हो ।’ उहाँले भन्नुभयो,‘जिल्लामा शान्ति सुरक्षा कायम गर्नको लागि प्रहरी प्रशासनसँगै यहाँका प्रत्येक नागरिकहरु पनि उत्तिकै सम्बेदशिल हुनु पर्दछ । यो एक हप्ते संयुक्त भीड नियन्त्रण अभ्यासको प्रर्दशनले कार्यसम्पादनलाई कसरी सफलता पुर्वक सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा सकारात्मक सन्देश दिनेछ ।’
चाडबाड नजिकिएसँगै हुन सक्ने आन्दोलनलाई ध्यानमा राखी नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त भीड नियन्त्रण अभ्यास गराईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले बताउनुभयो । ‘चाडबाड नजिकिएको बेला बजारमा मूल्य बृद्धिका साथै अन्य विषयमा पनि आन्दोलन हन सक्ने कुरालाई ध्यानमा राखेर हामीले सशस्त्र प्रहरीसँग संयुक्त भीड नियन्त्रण अभ्यास गरेका हौं ।’ उहाँले भन्नुभयो ।
यसका साथै प्रहरी प्रमुख कार्कीले बाँके ‘सदभावको शहर’ भनेर चिनिएको हुनाले यहाँ कुनैपनि प्रकारको आन्दोलन नहोस् र सदभाव नबिग्रियोस् भन्नका लागि सदभाव विथोलिने गरी हुन सक्ने जुनसुकै आन्दोलनलाई कसरी सम्हाल्ने भन्ने विषयमा आज गरिएको ‘संयुक्त भीड नियन्त्रण अभ्यास’ ले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हे. क्वा वागेश्वरी बाँकेका प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले शक्ति प्रयोगका आधारमा हुने हुलदंगा व्यवस्थान गर्ने नै मुख्य उद्येश्य भएको बताउनुभयो । ‘अन्तराष्ट्रिय कानून अनुसार जथाभावि शक्ति प्रयोग गर्न नपाइँदैन ।’ उहाँले भन्नुभयो,‘यदि आन्दोलन भईहालेको अवस्थामा आन्दोलन रोक्नका लागि तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीले कानून त कसरी भीडलाई नियन्त्रण गर्ने भन्ने विषयमा अभ्यास गरिएको हो ।’
विशेष गरेर नेपालगञ्जमा हुने हरेक प्रकारको अवाञ्छित कृयाकलापले श्रृजना गर्ने भीडलाई व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषमा शक्ति प्रयोगको सिद्धान्तलाई बाँकेमा कार्यरत जनपद र सशस्त्र प्रहरीको संयुक्त फोर्सलाई अभ्यास गराईएको हो । उक्त अभ्यासमा नेपाल प्रहरीका एक सय दुई प्रहरी र सशस्त्र प्रहरीका सैंतिस गरी जम्मा एक सय ३९ जना जवान सहभागी भएको अभ्यास तालिमका कमाण्डर याम बहादुर बुढा मगरले जानकारी दिनुभयो ।
उक्त ‘संयुक्त भीड नियन्त्रण अभ्यास’ प्रर्दशनी कार्यक्रममा प्रजिअ खगेन्द्र प्रसाद रिजाल सहीत राँझा स्थित श्री बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी र राष्ट्रिय अनुसन्धानका बाँके प्रमुख उप अनुसन्धान निर्देशक ओम खड्काको सहभागीता रहेको थियो ।






