बाँके । बाँकेमा आज चितुवालाई नियन्त्रणमा लिईएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ स्थित गिजरा सामूदायिक वनबाट चितुवालाई नियन्त्रणमा लिईएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर प्रसाद गुप्ताले जानकारी दिनुभयो । ‘हामीले आज खजुराको गिजरा सामूदायिक वनको जंगलबाट चितुवालाई नियन्त्रणमा लिएका छौं ।’ उहाँले भन्नुभयो,‘चितुवाले समस्या पारेको जनगुनासो आइरहेको थियो । वन्यजन्तुबाट हानी नोक्सानी हुन आएको पुष्टी भएपछि बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र एनटिएनसीको सहयोगमा उक्त चितुवालाई नियन्त्रणमा लिन सफल भएका हौं ।’
सोही गाउँपालिका वडा नम्बर ६ का बीरेन्द्र पुन मगरकी ढाई वर्षिया छोरी लक्ष्मी पुन मगरलाई गत भदौं ३० गते बेलुका घरको आँगनबाटै एक्कासी हराएकी थिइन् । खोजी गर्दा घटनाको दुई दिनपछि नजिकै रहेको गिजरा सामुदायिक वन क्षेत्रमा आधा शरिर खाएको अवस्थामा बालिकाको शव फेला परेको थियो । उक्त घटना घटेको १८ दिनपछि सोही ठाउँबाट आज भाले चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख गुप्ताले बताउनुभयो दिनुभयो ।
आजभन्दा १८ दिन पहिले ढाई वर्षिया नाबालिकालाई जंगलमा मृत अवस्थामा फेला परेकोमा स्थानीयले भने सोही चितुवाले नै नाबालिकालाई मारेको हुन सक्ने अनुमान गरेपनि बच्चालाई खाने चितुवा यही हो भन्ने एकिन भने हुन नसकेको डिभिजन वन प्रमुख गुप्ताको भनाई छ । ‘कुन चितुवाले लगेर मार्यो भन्ने पुष्टी हुन सकेको छैन । बच्चाको पोष्टमार्टम रिपोर्ट पनि अझै आईपुगेको छैन ।’ उहाँले भन्नुभयो, ‘अनुसन्धानकै क्रममा भएको कुरा पुष्टि नहुँदै हामीले यकिनका साथ आज नियन्त्रणमा लिएको चितुवाले नै उक्त समस्या श्रृजना गरेको भन्नै सक्दैनौं ।’
उक्त चितुवा नियन्त्रण गर्नका लागि कार्यालयले सामुदायिक वनको विभिन्न स्थानमा क्यामेरा समेत जडान गरेको थियो । चितुवा नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्जका दुई वटा हात्तीलाई ९ दिनसम्म गिजरा सामुदायिक वन क्षेत्रमै परिचालन गरिएको थियो । ठाउँ ठाउँमा क्यामेरा जडान गरी जंगलमै आहारा राखेर खोरमा फसाउन सफल भएको डिभिजन वन कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएको चितुवालाई डिभिजन वन कार्यालय बाँकेमा ल्याएर राखिएको छ । चितुवाको स्वास्थ्य परिक्षण गरेपछि उक्त चितुवालाई कहाँ छाड्ने भन्ने विषमा सम्बन्धित पक्षबीच छलफल भईरहेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख गुप्ताले बताउनुभयो ।
उजाड अवस्थामा रहेको खाली जमिनमा वृक्षारोपन गरेर करिव तीन दशक अघि यहाँका स्थानीय बासिन्दाले वनलाई संरक्षण गरेका थिए । वन, जंगल बढ्दै गएपछि स्थानीयले यहाँ गिजरा सामुदायिक वन उपभोक्ता समूह स्थापना गरेका थिए । अहिले उक्त वन क्षेत्र विभिन्न वन्यजन्तुको बासस्थान बनेको छ । राँझा सव डिभिजन वन कार्यालयका प्रमुख एवम् सहायक वन अधिकृत राजबहादुर चौधरीले चितुवालाई नियन्त्रणमा लिन निकै सास्ती बेहोर्नु परेको बताउनुभयो । ‘धेरै दिनको प्रयासपछि बल्ल तल्ल चितुवालाई नियन्त्रणमा लिन सक्यौं ।’ उहाँले भन्नुभयो, ‘यस्लाई नियन्त्रणमा नलिंदासम्म त भोक, प्यास, निन्द्रा र थकानको महसुस नै भएन । निकै सास्ती बेहोर्नु पर्यो ।’
खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर विकले चितुवा नियन्त्रणमा लिन खटिएका सबैलाई धन्यबाद दिंदै पीडित परिवारलाई राज्यले आवश्यक राहत र क्षतिपुर्ति दिनुपर्ने बताउनुभयो । पीडित परिवारलाई राज्यले आवश्यक राहत र क्षतिपुर्ति दिन ढिलाई गर्न हुँदैन भन्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सजगता अपनाउनु पर्नेमा जोड दिनुभयो ।






