बाँके । नजिकिंदै गरेका चाडपर्वहरूलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाईने भएको छ । हिन्दुहरुको महान पर्व दसैँ, तिहार, छठलगायतका चाडपर्वहरूलाई लक्षित गरी नेपालगन्ज उपमहानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाइने भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्जको मुख्य बजारभित्र सञ्चालन हुने ठेला, ई–रिक्सालगायत अन्य सवारी साधन ट्राफिक अवरोध नहुने गरी प्रचलित ट्राफिक नियमअनुसार सञ्चालन गर्ने गराउने, ट्राफिक प्रहरी कार्यालयले नेपालगन्ज उद्योग बाणिज्य संघसँग समन्वय गरी त्रिवेणी मोडदेखि त्रिभुवन चोकसम्म तीन–तीन दिन पालो गर्ने गरी वनवे बाटो चलाउन पहल गर्ने, सार्वजनिक बाटोमा यत्रतत्र निर्माण सामग्री राखी बाटो अवरुद्ध गर्ने र ट्राफिक व्यवस्थापनमा असहजता उत्पन्न गराउने कार्यलाई निरुत्साहित गर्ने, निर्माणलगायतका अन्य सामग्री बाटोमा राख्न नदिने सडकपेटी फुटपाथ तलदेखि माथिसम्म पूरै खाली गर्नेलगायतका निर्णय भएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवाला निकायको बैठकले सवारी साधन र सर्वसाधारणको चाप हुने ठाउँहरूमा नवरात्र सुरु हुनुअगाडि नै वान वे (एकतर्फी बाटो) सञ्चालन गर्ने निर्णय गरेको छ । नेपालगञ्ज शहरको गणेशमान चोकदेखि चारबाहिनी चोकसम्म जाने मात्र र फर्किँदा त्रिशक्ति मार्गबाट मात्र फर्किने गरी एकतर्फी बाटो सञ्चालन गर्ने निर्णय भएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । बाटो सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र नगर प्रहरीले एकआपसमा समन्वय गरेर काम गर्नेछन् ।
चाडबाडका बेला हुने भिडभाड र ट्राफिक चापलाई व्यवस्थित गर्ने गरी विभिन्न निर्णयहरू गरेर कार्यान्वयनमा अघि बढेको पनि नगर प्रहरी प्रमुख बोगटीले बताउनुभयो । उहाँका अनुसार सवारी साधनबाट जहाँसुकै यात्रु चढाउने र ओराल्ने कार्य गर्दा दुर्घटनाको जोखिम बढेकाले त्यसलाई निरुत्साहित गर्ने, सडकका छाडा पशुचौपायालाई शनिबारको दिन नियमित काञ्जीहाउस पु¥याउँदै आएकोमा त्यसलाई निरन्तरता दिने, चाडपर्वका बेला बजार क्षेत्रमा अनुगमनलाई सघन बनाउँदै उपभोक्तालाई गुणस्तरीय बस्तु तथा सेवा उपलब्ध गराउन सरोकारवाला सबै सक्रिय हुने निर्णय पनि गरिएको छ ।






