बाँके । भेरी अस्पताल नेपालगन्जमा कार्यरत प्रमुख कन्सल्टेन्ट चर्म रोग विशेषज्ञ डा बद्री चापागाईंले राप्ती नदीको सिधनियाघाटमा निर्माण गरिने बैंकुण्ठधामका लागि आर्थिक सहयोग गर्नु भएको छ । डा. चापागाईले आफ्ना स्वर्गीए हजुरबुबा हितलाल चपाईको स्मृतिमा बाँकेको राप्ती किनारमा निर्माण गर्न लागिएको बैकुण्ठ सिधनियाघाट परियोजनाका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दान गर्नु भएको हो ।
हिन्दु धर्मावलम्वीहरू देहत्याग पछिको परम्परागत दाहसंस्कारलाई व्यवस्थित गर्न नेपालगञ्जमा कुनै प्रकारको घाटको व्यवस्था नभएको हुँद यहाँका स्थानीयहरु राप्ती नदीको सिधनियाघाटमा बैंकुण्ठधाम निमार्णको अभियानमा जुटेका छन् । बाँकेको डुडुवा–५, राप्ती तटमा व्यवस्थित दाहसंस्कार स्थल निर्माणका लागि बैकुण्ठधाम सिधनियाघाट निर्माण अभियानमा यहाँका स्थानीय, जनप्रतिनीधी, विभिन्न राजनीति दल लगाएत संघसंस्थामा आवद्ध व्यक्तिहरु एक जुट भएका छन् ।
उक्त बैकुण्ठधाम सिधनियाघाट निर्माणको नेतृत्व डा. सुरेश कुमार कनोडियाले गर्नु भएको छ । बैकुण्ठधामको सदस्यता अभियान १६ श्राद्धको पहिलो दिनबाट सुरु हुँदैछ । ‘पिण्ड पितृलाई तर्पण, दान बैकुण्ठधामलाई अर्पण’ भन्ने अवधारणाका साथ सदस्यता अभियान सुरु गरिएको कोषाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
बैकुण्ठधाम निर्माणका लागि आगामी कार्तिक २२ गतेदेखि ३० गतेसम्म नेपालगन्जमा बैंकुण्ठधाम आध्यात्मिक महोत्सव आयोजना गरिंदैछ । त्यसका लागि वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेलले कथावाचन गर्ने मूल समितिका महासचिव श्रीराम सिग्देलले जानकारी दिनुभयो । उहाँको अगुवाईमा हुने आध्यात्मिक महोत्सवमा धार्मिक तथा आध्यात्मिक प्रवचनहरु हुने आयोजकले जनाएको छ ।
‘बैकुण्ठधाम निर्माणका लागि मूल समिति र तमाम उपसमितिहरु सक्रिय भएर लागेका छन् ।’ महासचिव सिग्देलले भन्नुभयो,‘यो अभियान सिंगो समाजको हो । त्यसैले यस्लाई पुर्णता दिन सबैको जिम्मेवारीका साथ लाग्नु पर्दछ ।’ नाट्टा बाँके च्याप्टरका अध्यक्ष समेत रहुन भएका सिग्देलले राप्तीनदी सिधनियाघाट क्षेत्रलाई आध्यात्मिक पर्यटनको गन्तव्य थलो बनाउने अभियान चालिएकाले पनि बताउनुभयो ।






