झापा । हरेक धर्मले सदभावको शिक्षा सिकाएको हुन्छ । धर्मले कहिल्यैपनि कसैलाई भेदभाव गर भनेर भनेको सिकाएको छैन । सबै धर्ममा एकले अर्कालाई सम्मान गर्न सकिएको छ । त्यसैको एउटा उदाहरण हो झापामा मदरसाको भवन निमार्णकोलागी हिन्दुले जग्गा दान गरेको विषय । झापाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा बनाउन एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन् ।
मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले १५ लाख रुपैयाँ पर्ने १२ धुर जग्गा दान गरेको प्रदेशसभा सदस्य एकराज कार्कीले बताए । अरु जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ कठ्ठा जग्गा पुर्याइने र मदरसा भवन निर्माण गरिने मदरसाका प्रमुख अफरोज खानले जानकारी दिए । अहिले त्यहाँको मस्जिदमा कक्षा ४ सम्म मदरसा सञ्चालन हुँदै आएको छ ।
जग्गा प्राप्त भएको समावेशी टोलमा कक्षा १२ सम्म पठनपाठन हुनेगरी मदरसाको भवन निर्माणका लागि सबै धार्मिक समुदायका दाताहरुलाई आह्वान गरिएको अध्यक्ष खानले बताए । यसैबीच, झापाको अर्जुनधारा–१ मा रहेको साधुटार गुरुकुलमा आर्थिक अभाव भएपछि सञ्चालकले एक रुपैयाँ दान अभियान शुरु गरेका छन् ।






