बाँके । वन्यजन्तुका लागि बाँकेका सामूदायिक वनहरुमा पानी पोखरी निमार्ण गरिएको छ । बाँकेको राप्तिसोनारी गाउँपालिका ८ ओभरी स्थित भगवती सामूदायिक वनमा पाँच लाखको लागतमा वन्यजन्तुका लागि पानी पोखरी निमार्ण गरिएको सामूदायिक वनका अध्यक्ष टिकाराम वलीले जनाकारी दिनुभयो ।
उहाँका अनुसार वन्यजन्तुका लागि शम्शेर बजारमा राखिएको खानेपानी ट्यांकिबाट १२ सय मिटर पाईप जमिन मुनि विच्छ्याईएर शुद्ध पानीको व्यवस्था गरिएको छ । पाँच सय वर्ग मिटर क्षेत्रफलमा निमार्ण गरिएको उक्त पोखरीमा नजिकै रहेको निकुञ्ज र सामूदायिक वनका वन्यजन्तुहरु पानी पिउन आउन गर्दछन् ।
‘अहिले त वर्षा लाग्यो । दिनदिनै अलिअलि भएपनि पानी परिरहन्छ । जेठ वैशाषको खडेरीमा वन्यजन्तुको भीड देख्न सकिन्थ्यो ।’ उहाँले भन्नुभयो,‘बाटो पारी निकुञ्ज र बाटो वारी सामूदायिक वन भएको हुनाले निकुञ्जका वन्यजन्तुहरु पनि यहाँ पानी पिउन आउँछन् ।’ अध्यक्ष वलीका अनुसार पानी पोखरी निमार्ण गरेदेखि चितुवा, चित्तल, जरायो लगाएत विभिन्न प्रजातिका वन्यजन्तुहरु सामूदायिक वनमा देखिन थालेका छन् ।
‘भगवती सामूदायिक वनमा पानी पिउन चितुवाको लर्को लाग्ने गर्दछ ।’ अध्यक्ष वलीले भन्नुभयो,‘पहिला पहिला यहाँका वन हेरालुहरु डराउँथे । अहिले त बानी परिसकेका छन् ।’ उक्त सामूदायिक वनमा क्यामेरा जडान गरिएको छ । क्यामेरामा १९ प्रजातिका चरा र वन्यजन्तुहरु देखिएको अध्यक्ष वलीले बताउनुभयो ।
उपभोक्ताको मागलाई सम्बोधन गर्दै डिभिजन वन कार्यालय बाँकेले पाँच लाखको आर्थिक सहयोगमा उक्त पानी पोखरी निमार्ण गरेको शम्शेरगञ्ज सव डिभिजन वन कार्यालय बाँकेका प्रमुख सुशिल सुबेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त पानी पोखरीको गहिराई ५ फिट, लम्बाई सय मिटर र चौडाई ५० मिटर रहेको छ । वन्यजन्तुलाई पानी पिउनका लागि पोखरीमा झर्न सजिलो होस् भन्नका लागि प्राकृतिक स्लोपमा पानी पोखरी निमार्ण गरिएको सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार वन्यजन्तुका लागि उक्त सामूदाकिय वनमा पाँच वटा पानी पोखरी निमार्ण गरिएको छ ।






