बाँके । बाँकेमा स्कूल बसले ठक्कर दिंदा बाख्रा गोठालाको ज्यान गएको छ । कोहलपुरको चप्परगौडीमा सञ्चालित ज्ञानकुञ्न ईग्लिस बोडिंग स्कूलको बसले ठक्कर दिंदा आज बाँकेको राप्तिसोनारी गाउँपालिका ९ खैरीका २६ वर्षिय गोबिन्द वलीको ज्यान गएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार मृतक वली सोही पालिका वडा नं. ९ स्थित झिंग्री खोला नजिकै बाख्रा चराउन जानु भएको थियो । उक्त दुर्घटनामा बाख्रा गोठाला वलीसंगै १३ वटा बाख्रालाई पनि उक्त स्कूल बसले ठक्कर दिएको थियो । प्रहरीका अनुसार गोठाला र बाख्राको एकै स्थानमा ज्यान गएको थियो ।
स्कूल बिदा भएर बच्चालाई घर घर पुर्याएपछि कोहलपुरदेखि ढकेरी तर्फ जाँदै गरेको ना ४ ख ४५७० नं. को उक्त बसले गोठालासंगै बाख्रालाई समेत ठक्कर दिएको प्रहरी बताएको छ । ३२ वर्षिय गाडी चालक प्रकाश विक र सहचालक दुवै दुर्घटना पश्चात फरार रहेको प्रहरीले बताएको छ । उनीहरुको खोजी कार्य जारी रहेको कोहलपुर प्रहरीले जनाएको छ ।






