बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बजेट पारित भएको छ । नगरसभाको १५ औं अधिवेशनको दोस्रो बैठकले असार १० गते पहिलो बैठकमा प्रस्तुत आर्थिक बर्ष २०८१/०८२ को बार्षिक राजश्व र व्ययको अनुमान (बजेट) सर्वसम्मत पारित गरेको हो ।
सभा अध्यक्ष एवम् नगर प्रमुख प्रशान्त विष्टले बजेट स्वीकृतिका लागि सभामा पेश गर्नुभएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी बर्षका लागि १ अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको बजेट ल्याएको छ । आन्तरिक आयतर्फ २० करोड ११ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य छ ।
त्यसैगरी दोस्रो बैठकले आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१ र आन्तरिक आय व्यवस्थापन तथा नियमन विधेयक २०८१ पनि पारित गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरुरबाट पेश भए बमोजिमको आर्थिक बर्ष २०८१/०८२ को बजेट, योजना तथा कार्यक्रमहरु पनि स्वीकृत भएका छन् ।
यस्तै सभा अध्यक्ष एवम् नगर प्रमुख विष्टले स्वीकृतिका लागि सभामा पेश गर्नुभएको नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा ब्यवस्थित गर्न बनेको ऐन २०७४ खारेज तथा संघीय ऐन कार्यान्वयनु पनि पारित भएको छ । १५औं नगर अधिवेशनको दोस्रो बैठकबाट बालबालिका सम्बन्धि ऐन २०७७ को संशोधन पनि स्वीकृत भएको प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्काले बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका र अन्तर्गतका वडा कार्यालयहरुमा करार सेवामा कार्यरत कर्मचारी तथा दैनिक ज्यालादारी कर्मचारीहरुको म्याद थप सम्बन्धि एजेण्डा पनि सभाले स्वीकृत गरी पारित गरेको छ । यस्तै पूर्वाधार विकास समितिका संयोजक बसन्त कुमार कनोजियाले तयार पार्नुभएको प्रतिवेदन पनि सभाले स्वीकृत गर्दै पारित गरेको छ ।






