बाँके । वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिका–४ सिधनवा घाटस्थित राप्ती नदीमा पानीको बहाव बढ्दै गइरहेको छ तर स्थानीयलाई त्यसको प्रवाह छैन । पानीसँगै बगेर आएका दाउरा जम्मा गर्न राप्ती नदी किनारमा स्थानीयको भीड लागेको छ ।
दाउरा जम्मा गर्न गाउँपालिकाका विभिन्न स्थानमा सयौँ स्थानीय आज बिहानदेखि दिनभर व्यस्त रहे । नागरिक दाउरा सङ्कलन गर्न पानीमा रुझ्दै बालबालिकादेखि युवालगायत ज्येष्ठको घुइँचो देख्न सकिन्थ्यो । स्थानीयले लौरो (लामो कैँची लौरो) बनाएर त्यसैको सहयोगबाट नदीका दाउरा तानिरहेका देखिन्थे ।
डुडुवा ४ का स्थानीय पल्लवी वर्माले बिहान ११ बजेदेखि दाउरा जम्मा गर्न नदी किनारामा आएको बताउनुभयो । उहाँले अहिलेसम्म करिब सात आठ क्विन्टल दाउरा जम्मा गरेको बताउनुभयो । वर्माले जम्मा गरेका दाउरा मध्ये ठुला दाउरा नेपालगन्जसम्म लगेर बिक्री गर्ने र साना दाउराहरू घरमै प्रयोग गर्ने गरेको बताउनुभयो ।
वर्मा जस्तै सोही गाउमापालिका वडा नं. ६ का स्थानीय गौरी यादव नदीबाट दाउरा झिक्न दुई सन्तानका साथमा नदी छेऊमा पुग्नु भएको छ । ‘घरमा लोग्ने मान्छे कोही पनि छैनन् । भई दिएको भए आज यतिबेला मलाई ज्यानको बाजी लगाएर पानीमा पस्दै दाउरा झिक्नु पर्दैनथ्यो ।’ उहाँले भन्नुभयो,‘बग्दै गरेको नदीबाट दाउरा झिक्न सजिलो छैनन नी । नदीले बगाउने धेरै सम्भावना हुन्छ । त्यही पनि गर्नै पर्छ ।’ बिहान खाना खाएर नदीमा दाउरा जम्मा गर्न पुग्नु भएकी गौरीले नौं क्विन्टल जति दाउरा जम्मा गरेको बताउनुभयो ।
अर्का स्थानीय शेखर अन्सारी पनि नदी किनारमा जम्मा भएको दाउरा निकाल्न शनिबार बिहानै देखि स परिवार राप्ति नदीमा पुग्नु भएको छ । उहाँसँग दाउरा निकाल्न सात वर्षको छोरी र नौं वर्षको छोरा सहित बृद्ध हुनुभएका आमा बुबा पनि नदीमा जानु भएको अन्सरीले बताउनुभयो । उहाँले पनि वर्माले जस्तै जम्मा गरिएका दाउरा मध्य ठूलालाई नेपालगञ्जको शहरमा लगेर बिक्रि गेर्न र सानालाई घरमा प्रयोग गर्ने बताउनुभयो । अन्सारीले बिहानदेखि बाह्र क्विन्टल जति दाउरा निकाले बताउनुभयो ।
नदीबाट दाउरा झिक्दा हुने सम्भावित दुर्घटनाबाट मध्यनजर गर्दै नागरिकलाई बचाउनका लागि उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेड क्वाटर बागेश्वरी बाँकेबाट प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको तालिम प्राप्त उद्धार टोली तैनाथ रहेको छ । गणले सशस्त्र प्रहरी निरीक्षक ललित शाहीको कमाण्डमा २५ जनाको तालिम प्राप्त उद्धार टोलीलाई आवश्यक उद्धार सामाग्रीसहित उक्त स्थानमा खटाएको छ ।
‘नदीको सतह क्रमशः बढ्दै आएको छ । नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्नका लागि सयौँ स्थानीयहरूको भीड लागिरहेको छ ।’ सशस्त्र प्रहरी निरीक्षक शाहीले भन्नुभयो,‘हामी बिहान १० बजेदेखि यहाँ ड्युटी गरिरहेका छौँ । नदीबाट दाऊरा झिक्दा हुने सम्भावित दुर्घटनाबाट मध्यनजर गर्दै हामीले नदीमा पस्न भने दिएका छैनौं । कुनै दुर्घटना भइहालेमा उद्धार सामाग्रीसहित २५ जनाको तालिम प्राप्त उद्धार टोली तत्काल परिचालन हुन्छौँ ।’
सशस्त्र प्रहरी निरीक्षक शाहीका अनुसार कुसुममा रहेको बाढी मापन केन्द्रले नदीको अवस्थाका बारेमा गणमा जानकारी गराउने गरेको र तालिम प्राप्त उद्धार टोली जोखिमयुक्त स्थानहरूमा तुरुन्तै परिचालन हुनेछ । हरेक वर्ष वर्षाको समयमा राप्ती नदीले बगाएर ल्याएका दाउराहरू स्थानीयले यसै गरी जम्मा गर्ने, बिक्री गर्ने तथा घरमा प्रयोग गर्ने गर्दै आएका छन् ।






